
विराटनगर । विराटनगरमा इनोभेट नेक्स्ट इम्प्याक्टको आयोजनामा ‘कोशी प्रदेशमा पर्यटन’ विषयक साझा संवाद भएको छ । आज पर्यटन, वन तथा वातावरण मन्त्रालयको सभाहलमा सरोकारवालाहरूको उपस्थितिमा साझा संवाद भएको हो ।
पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव डा. इन्द्रप्रसाद सापकोटाले कोशी प्रदेश सरकारले घोषणा गरेको कोशी पर्यटन वर्ष–२०८२ ले प्रदेशमा पर्यटनको संस्कार र आधार निर्माणका लागि महत्वपूर्ण भूमिका खेलेको बताए ।
उनले कोशी प्रदेशमा पर्यटक भित्राउने सवालमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुने विचार व्यक्त गर्दै पर्यटन वर्षले निर्माण गरेको आधारमा टेकेर प्रदेशले पर्यटन विकासमा भूमिका खेल्ने उल्लेख गरे ।
कोशी पर्यटन वर्ष २०८२ का सह-संयोजक भविषकुमार श्रेष्ठले प्रदेशमा पर्यटकको स्पष्ट तथ्याङ्क नभएकोले कोशी प्रदेशमा कति पर्यटक आएको भनेर दाबी गर्न सक्ने अवस्था नरहेको बताए । उनले प्रदेश सरकारले निजी क्षेत्रलाई प्राथमिकतामा राख्दै कार्य गर्दै आएकोमा पर्यटकको गुणात्मक वृद्धिका लागि नीतिगत पहल गर्नुपर्नेमा जोड दिए ।
संवाद कार्यक्रममा पर्यटन व्यवसायी राजन श्रेष्ठले प्रदेश सरकारले भारतीय पर्यटकहरू नेपाल आउँदा खर्च गर्न प्रोत्साहन गर्ने नीति निर्माण गर्नुपर्ने बताए । नेपाली सुरक्षाकर्मीहरूले भारतीय पर्यटकहरूलाई गर्ने व्यवहारमा समेत परिवर्तन आउनु पर्ने उनले बताए ।
होटल व्यवसायी बासुदेव बराल, होमस्टे महासङ्घ कोशी प्रदेशकी अध्यक्ष लिलादेवी भट्टराईलगायतले प्रदेश सरकारसँगै स्थानीय तहहरू समेत पर्यटन क्षेत्रको विकासका महत्वपूर्ण साझेदार हुने विचार राखेका छन् ।
वसन्त अधिकारीले सहजीकरण गर्नु भएको संवाद कार्यक्रममा सरकारी, निजी तथा होटल तथा पर्यटन विषयक अध्यापन हुने शिक्षालयका विद्यार्थीहरूको सहभागिता रहेको आयोजक संस्थाकी श्वेता आचार्यले जानकारी दिइन् ।

संगालोखबर 














