
विराटनगर । कोशी प्रादेशिक क्रिकेट संघ र नेपाल क्रिकेट फाउण्डेसनको आयोजनामा विराटनगरमा भएको प्रथम कोशी एलाइट कप क्रिकेटको उपाधि मोरङले जितेको छ ।
झापालाई २७ रनले पराजित गर्दै मोरङले उपाधि जितेको हो । टस हारेर ब्याटिङ गरेको मोरङले निर्धारित ४३ ओभरमा ४२ दशमलव ४ बलमा सबै विकेट गुमाई १ सय ७४ रनको योगफल तयार पारेको थियो ।
मोरङका कृतिक कामतले ३४ रन बनाउँदा प्रतीक पोखरेलले २६, शाकिव हकले २४, कप्तान दिपेश कँडेलले १९, प्रेम कामतले अविजित १३ र आइस्टाइन रिजालले १० रनको योगदान दिए । झापाका आयुस न्यौपानेले ३ विकेट लिँदा कप्तान सुजन थपलिया, सौजनप्रसाद घिमिरे र विपिन महतो २–२ विकेट लिए ।
१ सय ७५ रनको लक्ष्य पाएको झापाले पुरै ओभरमा ९ विकेट गुमाई १ सय ४७ रन मात्र बनाउन सक्यो । झापाका आसिक राना मगरले ४३ रन जोड्दा फैजल रहमानले २२, आयुश न्यौपानेले ११, दीपु भुजेल र भुपाल दंगालले १०–१० रन बनाए ।
मोरङका फिर्दोस अन्सारीले ३ विकेट लिँदा कप्तान दिपेश कँडेल र प्रेम कामतले २–२ विकेट लिए । खेलको प्लेयर अफ फाइनल मोरङका कप्तान दिपेश कँडेल घोषित भए ।
उत्कृष्ट ब्याटर मोरङका कृतिक कामत घोषित भए भने उत्कृष्ट बलर मोरङकै प्रेम कामत भए । त्यस्तै प्लेयर अफ द सिरिज मोरङकै कप्तान दिपेश कँडेल भए ।
विजयी तथा अन्य खेलाडीलाई कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुली, कोशी प्रदेश क्रिकेट संघका अध्यक्ष सर्वजितराज पाण्डे र मोरङ जिल्ला क्रिकेट संघका अध्यक्ष महमद साद बाबुलगायतले पुरस्कार तथा प्रमाण पत्र वितरण गरेका थिए ।

संगालोखबर 













