
विराटनगर । मोरङ प्रथम कोशी एलाइट कप क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । कोशी प्रादेशिक क्रिकेट संघ र नेपाल क्रिकेट फाउण्डेसनको आयोजनामा जारी प्रतियोगितामा लगातार २ खेल जित्दै मोरङ फाइनलमा पुगेको हो ।
विराटनगरको मेरिलेवन ज्वाला क्रिकेट मैदानमा आज भएको खेलमा झापालाई ४ विकेटले पराजित गर्दै समुह विजेताको रूपमा मोरङ फाइनलमा प्रवेश गरेको छ ।
टस जितेर ब्याटिङ गरेको झापाले निर्धारित ४३ ओभरको खेलमा ३३ दशमलव १ बलमा सबै विकेट गुमाई ८४ रनको झिनो योगफल तयार पारेको थियो । झापाका सुजन थपलियाले २५ रन बनाउँदा एलिस मण्डलले २३ रनको योगदान दिए ।
मोरङका प्लेयर अफ म्याच प्रेम कामतले ९ ओभरमा किफायती बलिङ गर्दै १ मेडन राख्दै १६ रन दिएर ५ विकेट लिँदा कप्तान दिपेश कँडेलले २ विकेट, फिर्दोस अन्सारी, श्रवण किस्कु र प्रितिक पोखरेलले १–१ विकेट लिए ।
८५ रनको झिनो लक्ष्य पाएको मोरङले ३० दशमलव ५ बलमा ६ विकेट गुमाई सो लक्ष्य भेट्टाएको थियो । मोरङका कप्तान दिपेश कँडेलले अविजित ३१ रन जोड्दा प्रितिक कामतले अविजित २९ रन बनाए । झापाका विपिनकुमार महतोले ३ विकेट लिँदा आयुश न्यौपाने, सौजनप्रसाद घिमिरे र सुजन थपलियाले १–१ विकेट लिए ।
मोरङ ४ अंक जोड्दै शीर्ष स्थानमा छ । यस्तै झापा दोस्रो र सुनसरी तेस्रो स्थानमा छ । भोलि झापा र सुनसरीको खेल हुनेछ । त्यसको विजेतासँग शनिबार मोरङले फाइनलमा प्रतिस्पर्धा गर्नेछ ।

संगालोखबर 













