
विराटनगर । कोशी प्रादेशिक क्रिकेट संघ र नेपाल क्रिकेट फाउण्डेसनको आयोजनामा विराटनगरमा सुरु भएको प्रथम कोशी एलाइट कप क्रिकेट प्रतियोगितामा मोरङ विजयी भएको छ ।
उद्घाटन खेलमा मोरङले सुनसरीलाई १ सय ३३ रनको फराकिलो अन्तरले पराजित गरि २ अंक जोडेको छ । टस जितेर ब्याटिङ गरेको मोरङले निर्धारित ५० ओभर ८ विकेट गुमाई २ सय २० रनको सम्मानजनक योगफल तयार पारेको थियो ।
मोरङका शाकिव हकले ४२ रन बनाउँदा कप्तान दिपेश कँडेलले अविजित ४१, कृतिक कामतले ३७, विशाल ढकालले २३, अटल साहले २६ तथा आइस्टाइन रिजाल र फिर्दाेस अन्सारीले १०–१० रनको योगदान दिए ।
सुनसरीका समिर तिम्सिनाले ३ विकेट लिँदा कविराज खत्रीले २ विकेट, रिजन पाण्डे र गौरभ कटवालले १–१ विकेट लिए । २ सय २१ रनको लक्ष्य पाएको सुनसरीले ३४ दशमलव २ बलमा सबै विकेट गुमाई ८७ रनमा सीमित भयो ।
सुनसरीका अफन ताहिरले २२ रन बनाउँदा कविराज खत्रीले १४, आकास सर्राफले १३ र रितेश रायले १० रन बनाए । मोरङका दिपेश कँडेलले ५ विकेट लिँदा फिर्दाेस अन्सराी र प्रेम कामतले २–२ विकेट लिए ।
दिपेशले ७ दशमलव २ बलमा १२ रन मात्र दिए । खेलको प्लेयर अफ म्याच मोरङका अलराउण्डर दिपेश कडेल घोषित भए । प्रतियोगितामा प्रधानमन्त्री कप क्रिकेटमा कोशी प्रदेशबाट उत्कृष्ट भएका तीन टोली सहभागी छन् ।

संगालोखबर 













