काठमाडौँ, २८ असोज । एमाले र माओवादी केन्द्रको संयुक्त चुनावी घोषणापत्र धेरैले अनुमान गरेभन्दा बेग्लै किसिमले आउँदैछ। वाम गठबन्धनको तरंग छिमेकी देशदेखि शक्ति राष्ट्रसम्म फैलिएपछि घोषणापत्रको मस्यौदामै एमाले–माओवादीले आफ्नो तत्कालको लक्ष सोभियत मोडलको समाजवाद निर्माण नभई आर्थिक सम्वृद्धि रहेको बताएका छन्।

Advertisement

‘नेपाली कांग्रेसले अर्को कुनै पार्टीसँग एकता वा चुनावी गठबन्धन गर्यो भने हामी त्यसलाई सहजरुपमा लिनेछौँ। त्यस्तो एकताले नेपाली समाज र राजनीतिमा सकारात्मक योगदान दिने ठान्छौं।’

वाम गठबन्धन बनाएर चुनावी तालमेल र पार्टी एकताको चरणमा अगाडि बढेका एमाले र माओवादी केन्द्रले संयुक्त चुनावी घोषणा पत्रका नेपाली कांग्रेसमाथि तीब्र प्रहार गरेका छन् भने छिमेकी भारत र चीनको मन जित्न सन्तुलित शब्दहरू राखेका छन्।

दुई वाम घटकबीचको एकतामा चिनियाँ भूमिकासमेत रहेको चर्चा एकथरीले गरिरहेका बेला घोषणापत्रमार्फत् एमाले र माओवादी केन्द्रले भारत–चीन लगायत अन्तर्राष्ट्रिय जगतलाई एकता कसैका पक्ष वा विपक्षमा नभई नेपालको स्थिरता र सम्बृद्धिका लागि भएको आश्वस्त गराउन प्रयास गरेका छन्।

‘हाम्रो यो एकता र तालमेल कसैका विरुद्ध लक्षित छैन, हामीले राष्ट्र र जनताको पक्षमा एकताबद्ध भएर उभिने घोषणामात्र गरेका हौँ। अझ यसमा हाम्रो अन्तर्राष्ट्रिय छिमेकी मित्रहरुलाई तान्न वा घचेट्न खोज्नु अनावस्यक मात्र होइन, नितान्त गलत कार्य हो।’

नेपालखबरले प्राप्त गरेको एमाले र माओवादी केन्द्रको संघीय निर्वाचन घोषणापत्र २०७४ नाम दिइएको घोषणापत्रको मस्यौदामा भनिएको छ, ‘हाम्रा छिमेकी मित्रराष्ट्र सहित अन्तर्राष्ट्रिय मित्रहरुले यसलाई नेपालको आन्तरिक एवं लोकतन्त्रको एउटा सामान्य एवं अस्वाभाविक परिघटनाका रुपमा वाहेक अन्यथा लिने छैनन् भन्ने कुरामा नेपाली जनता विश्वस्त छन्। हाम्रो यो गठबन्धन सबैसँग, मुख्यतः दुई छिमेकी मुलुकहरुसँग समनिकटताका आधारमा घनिष्ट मैत्री सम्बन्ध कायम राख्न दृढ रुपमा प्रतिवद्ध रहेको कुरा स्पष्ट छ।’

नेपालका सबै राजनीतिक परिवर्तनहरुको नेतृत्वको दावी नेपाली कांग्रेसले गरिरहेका बेला एकता प्रक्रियामा रहेका यी दुई ठूला कम्युनिष्ट घटकले परिवर्तनहरुको नेतृत्व कम्युनिष्टहरुले गरेको र त्यसमा कांग्रेसको सहकार्य रहेको दावी गरेका छन्।

मस्यौदामा भनिएको छ, ‘निरन्तर संघर्षको परिणामस्वरुप हामी कम्युनिष्ट शक्तिहरुको नेतृत्व र पूँजीवादी लोकतान्त्रिक शक्तिहरुको समेत सहकार्यमा नेपालमा लोकतान्त्रिक क्रान्ति आफ्नै मौलिकतामा आधारभूतरुपले सम्पन्न भएको छ।’

नेपाली समाजले लोकतान्त्रिक क्रान्तिको चरण पार गरेपनि सामन्तवादीका अवशेषषहरु अझै बाँकी रहेकाले कम्युनिष्ट शक्तिहरुको मुख्य कार्यभार देशलाई विकास र सम्बृद्धिको दिशामा गुणात्मक रुपमा फड्को मार्ने ठाउँमा पुर्‍याउनु रहेको र त्यसैका लागि आफूहरु चुनावी तालमेल हुँदै पार्टी एकता गर्ने तयारीमा रहेको त्यसमा उल्लेख गरिएको छ।

कम्युनिष्ट समर्थक जनमतको बाहुल्यताका बावजुद फूट र विभाजनका कारण आफूहरुको उद्देश्य पुरा हुन नसकेको बताउँदै, अझै विभाजित स्थितिमा रहने हो भने ‘विकसित एवं सम्बृद्ध नेपाल र सुखी नेपाली’ को उद्देश्य पुरा हुन नसक्ने त्यस नसक्ने आत्मविश्लेषण पनि उनीहरुले गरेका छन्।

त्यो स्थिति अव नआओस् भनेरै एकिकृत पार्टी निर्माण गर्ने निष्कर्षमा पुगेको दावी गर्दै समयअभावका कारण तत्काल एकता गर्न नसकिएको स्पष्टिकरण त्यसमा दिइएको छ। भनिएको छ, ‘संगठनात्मक एकिकरण पुरा गरी एकिकृत पार्टी निर्माण गर्न केही समय छलफल, गृहकार्य र तयरीका लागि लाग्ने, तर संघ तथा प्रदेशको निर्वाचन भने अत्यन्त निकट आइसकेको सन्दर्भमा हामीले आगामी चुनावमा तालमेल गरेर जाने निर्णय गरेका छौँ।’

चुनावी तालमेल र पार्टी एकताको उद्देश्यपनि घोषणापत्रमार्फत् स्पष्ट पार्ने प्रयासमा उनीहरु छन्। ‘राष्ट्रिय स्वाधिनताको रक्षा गर्ने, संविधानको क्रियान्वयन गर्ने एवं आवस्यकता अनुसार परिमार्जन तथा विकास गर्ने, शान्तिपूर्ण प्रतिस्पर्धामार्फत् सामाजिक–आर्थिक रुपान्तरण गर्ने, सामाजिक न्याय सहितको सम्बृद्ध नेपाल निर्माण गर्ने र समाजवादको आधार खडा गर्ने।’ घोषणापत्रको मस्यौदामा भनिएको छ, ‘यस कामबाट अगाडि बढ्दै सुदृढ एवं सशक्त एकिकृत कम्युनिष्ट पार्टीको नेतृत्वमा समाजवादको निर्माण गर्ने।’

तर समाजवादको निर्माण केही अवधिका लागि तत्कालको कार्यसूची नभएको उनीहरुले बताएका छन्। भनेका छन्, ‘समाजवाद रणनीतिको विषय हो। साथै अवको समाजवाद यसअघि स्थापित सोभियत संघको मोडलमा आधारित होइन भन्नेमा पनि स्पष्ट छ। हाम्रो यतिबेलाको लक्ष्य र कार्यभार भने सामाजिक न्याय सहितको सम्बृद्धि नै हो, त्यसमा नै हाम्र्रो अर्जुनदृष्टि रहन्छ।’

एकताको निर्णयबाट अधिकांस जनता खुसी भएको बताउँदै कांग्रेसको नेतृत्वमा पनि यस्तै गठबन्धन बने त्यो राजनीति र समाज परिवर्तनका लागि सकरात्मक हुने ठहर दुवै पार्टीको छ।

‘हाम्रो पार्टी एकताको पहल र चुनावी तालमेल गर्ने निर्णयले राजनीतिक स्थिरता र विकास चाहने सबैमा उत्साह र खुसीको लहर पैदा गरेको छ। लोकतन्त्रमा विश्वास राख्ने सवैका लागि, यो प्रक्रियामा सामेल नहुनेहरुका लागि पनि यो स्वभाविक र सहज प्रक्रिया हो।

किनकी वहुदलीय प्रतिस्पर्धात्मक लोकतन्त्रमा वैचारिक, लक्ष्यगत र कार्यक्रमगत सामिप्यता राख्ने पार्टीहरुको बीचमा पार्टी एकता वा चुनावी गठबन्धन एक सामान्य एव स्वभाविक कुरा हो,’ उनीहरुले भनेका छन्, ‘नेपाली कांग्रेस वा अन्य कुनै पार्टीले यस आधारमा कसैसँग पार्टीगत एकता वा चुनावी गठबन्धन गरेभने पनि हामी त्यसलाई सहजरुपमा लिन्छौँ र सम्मान गर्छाैँ। त्यसले नेपाली समाज र राजनीतिमा सकरात्मक योगदान गर्दछ भन्ने हामी ठान्दछौँ।’

एमाले–माओवादी केन्द्रबीचको चुनावी तालमेल र एकताको निर्णयलाई रामचन्द्र पौडेल लगायत कांग्रेस नेताहरुले ‘लोकतन्त्रका लागि खतरा’ र ‘अधिनायकवाद लाद्ने’ योजनाका रुपमा व्याख्या गरेका थिए। यस्तो टिप्पणीप्रति असन्तुष्ट देखिएका एमाले र माओवादी केन्द्रले कांग्रेसले लोकतन्त्रलाई आफू अनुकूल व्याख्या गरेर अलोकतान्त्रिक व्यवहार प्रदर्शन गरेको जवाफ घोषणापत्रमार्फत् फर्काएका छन् ।

यो एकता र चुनावी गठबन्धनप्रति ‘लोकतन्त्रका लागि अनिष्टका रुपमा टिप्पणी गरेर कांग्रेसले आफ्नो अलोकतान्त्रिक प्रवृत्ति एवं निहित स्वार्थपरक कुण्ठाजन्य अभिव्यक्तिलाई मात्र उजागर गरेको आरोप छ एमाले र माओवादी केन्द्रको। कम्युनिष्ट शक्तिबीचको फूट र विभाजनमा मात्र कांग्रेसले आफ्नो विजय देख्ने गरेको आरोपपनि उनीहरुले लगाएका छन्।

जस्तो कि, मस्यौदामा भनिएको छ, ‘कम्युनिष्ट शक्तिहरु विभाजित भइरहे र आफ्नो विजयलाई पन्छाउने काम गरिरहे मात्र नेपालमा लोकतन्त्र हुने नेकाको सोच हदै अलोकतान्त्रिक हो।

लोकतन्त्रलाई आफ्नो ‘सुविधा’ को बस्तु ठान्ने नेपाली कांग्रेसले लोकतन्त्र स्थापनाका लागि संघर्ष गर्ने महान शहीदहरु र नेपाली जनतालाई घोर अपमान गरेको छ । यो नेपाली जनता र कोही पनि लोकतन्त्रवादीलाई स्वीकार्य कुरा होइन ।’

आफूहरुबीचको एकतालाई गलत रुपमा टिप्पणी गर्नुको साटो कांग्रेसले आफूलाई सम्हाल्नुपर्ने र स्वस्थ प्रतिस्पर्धाका लागि तयार हुनुपर्ने बताउँदै उनीहरुले सुझाव दिएका छन्, ‘नेपाली कांग्रेसले आफूलाई सम्हालोस्, सच्याओस्। लोकतन्त्रवादी पार्टीका रुपमा क्रियाशील होस् र लोकतान्त्रिक मूल्य–मान्यताका आधारमा जिम्मेवारपूर्ण ढंगले प्रतिस्पर्धामा सामेल होस्। हामी चाहन्छौँ, नेपाली कांग्रेसले आफूलाई सम्हालोस् एवं सच्याओस्, लोकतन्त्रवादी पार्टीका रुपमा क्रियाशील होस् र लोकतान्त्रिक मूल्य–मान्यताका आधारमा जिम्मेवारपूर्ण ढंगले प्रतिस्पर्धामा सामेल होस्।’-नेपालखबर

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!