संगालोखबर


धनकुटा । नेकपा (एमाले) का केन्द्रिय सदस्य एवं धनकुटाबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार राजेन्द्र राईले आफ्नो चुनावी संकल्प र प्रतिबद्धताहरू सार्वजनिक गरेका छन् । उनले आज धनकुटामा पत्रकार सम्मेलन गर्दै आगामी फागुन २१ गते हुने निर्वाचन केन्द्रित चुनावी संकल्प र प्रतिबद्धताहरू सार्वजनिक गरेका हुन् ।

राईले धनकुटाको समृद्धिका लागि भौतिक पूर्वाधार, कृषि क्रान्ति र पर्यटनलाई मुख्य आधार बनाएका छन् । उम्मेदवार राईले धरान–लेउती सुरुङमार्ग निर्माणलाई विशेष प्राथमिकतामा राखेका छन् । उनले सुरुङमार्ग निर्माण गर्न ठोस पहल गर्ने उल्लेख गरेका छन् ।

यस्तै प्रदेश सरकारसँग समन्वय गरी धनकुटामा शिक्षण अस्पताल निर्माण गर्न पहल गर्ने तथा प्रदेश सरकार, स्थानीय पालिका र सरोकारवालाहरूसँग संयोजन गरी चौबिसे गाउँपालिका र महालक्ष्मी नगरपालिकामा नमुना शहर निर्माण गर्ने योजना राईले अघि सारेका छन् ।

गाँजा खेतीलाई वैधानिक बनाउन र ओसारपसार गरेको नाममा जेल परेका निर्दोष व्यक्तिहरूलाई रिहाइको निम्ति तत्काल पहल गर्ने उनले प्रतिवद्धता जनाएका छन् ।

धनकुटा जिल्लामा चिया, एभोकाडो, सुन्तला, किवी, कफी खेती, ड्राइगन फलजस्ता कृषि उपजहरूको व्यावसायिक उत्पादन, प्रशोधन र बजारीकरण तथा तीनै तहको सरकारसँग समन्वय गरेर कृषि बजार केन्द्र सञ्चालन गर्ने उनको योजना छ ।

यसैगरी जेनजीहरूलाई आधुनिक प्रविधिमार्फत नवप्रर्बद्धनात्मक सिकाइ र आय आर्जनमा केन्द्रीत गर्ने, धनकुटा सदरमुकाममा रहेको ऐतिहासिक तल्लो टुँडिखेललाई आधुनिक रंगशालामा परिणत गर्ने तथा प्रादेशिक निर्वाचन क्षेत्रमा एक/एक वटा राष्ट्रिय मापदण्डको खेलग्राम निर्माण गर्ने उल्लेख गरेका छन् ।

खुवालुङ–लालीगुराँस पदमार्गको रूपमा (त्रिवेणी–पाताल–थलथले–हिले–सिधुवा–पटेकडाँडा-चित्रे-तीनजुरे) विकास गर्ने तथा बराहक्षेत्र–मिक्लाजुङ साँस्कृतिक याक्थुङ पदमार्गको (बराहक्षेत्र–चाँदीबजार–साँगुरीभन्ज्याङ–भेडेटार–ध्वजेडाँडा–राजारानी–जेफाले–मिक्लाजुङ) विकास गर्ने उनले प्रतिवद्धता पत्रमा उल्लेख गरेका छन् ।

यसैगरी छिन्ताङदेवी, धर्मदेवी, मधुगंगा धामलाई धार्मिक पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने, राजारानी ताल र संसारीमाई सिमसार पाख्रीबास, नमस्ते झरना, लेगुवा झरनालाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने योजना राईले अघि सारेका छन् ।

कृषि उत्पादनको लागि किसानलाई अनुदान र सरल ब्याजदरमा ऋण उपलब्ध गराउन पहल गर्ने, नमस्ते झरना–नाम्जे केबलकार निर्माण गर्ने, आधुनिक कोल्डस्टोरहरू निर्माण गर्ने र अधुरो रहेका सम्पूर्ण विकास परियोजनाहरूलाई सम्पन्न गर्ने उनले उल्लेख गरेका छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!