
विराटनगर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपा एमालेले मोरङ क्षेत्र नम्बर ६ मा निर्वाचन परिचालन कमिटी गठन गरेको छ । एमाले नेता तथा सोही क्षेत्रका पूर्व सांसद लालबाबु पण्डितको संयोजकत्वमा ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरिएको हो ।
निर्वाचन परिचालन कमिटीमा क्षेत्र–६ को भूगोलमा रहेका केन्द्रीय सदस्यहरू, प्रदेश कमिटीका सदस्यहरू, जिल्ला कमिटीका पदाधिकारी, सदस्यहरू, जनसंगठनका पदाधिकारी लगायत छन् ।
निर्वाचन परिचालन कमिटीले क्षेत्र–६ का २० वटै वडालाई केन्द्रित गरेर एमाले उम्मेदवार विनोद ढकालको प्रचारप्रसार अभियानलाई तीव्र बनाएको छ । सोमबार निर्वाचन परिचालक कमिटीले सुन्दरहरैँचा र विराटनगरमा चुनाव लक्षित भेला गरेको छ ।
क्षेत्र–६ मा सुन्दरहरैँचा नगरपालिका अन्तरगतका २ देखि ७ नम्बर वडा, बुढीगंगा गाउँपालिका र विराटनगर महानगर क्षेत्रका ४, ५, ६, ७, ९, ११ र १२ वडाहरू छन् । यस क्षेत्रमा १ लाख ३७ हजार ८३२ मतदाता छन् ।

संगालोखबर 













