
विराटनगर । राज्यका हरेक तह र राजनीतिमा युवाहरूको प्रभावकारी सहभागिता बढाउनुपर्ने विराटनगरमा आज भएको एक कार्यक्रमका वक्ताहरूले बताएका छन् ।
गैर सरकारी संस्था महासंघ कोशी प्रदेश समितिले आयोजना गरेको ‘सुशासन, भ्रष्टाचार नियन्त्रण, निर्वाचन प्रक्रिया तथा जेनजी र युवा सहभागिता विषय अन्तरपुस्ता प्यानल संवाद’ कार्यक्रममा बोल्ने वक्ताहरूले यस्तो बताएका हुन् ।
उनीहरूले युवाहरूको सहभागिताले मात्रै मुलुकमा सुशासन र समृद्धि आउने उल्लेख गरे । कार्यक्रममा भोजपुरबाट सहभागी जेनजी युवा अर्जुन ढकालले राजनीतिसहित सबै क्षेत्रमा युवा सहभागिता बढाउनुपर्नेमा जोड दिए ।
खोटाङबाट सहभागी अर्का युवा कञ्चन परियारले युवाहरूलाई अवसरबाट वञ्चित गरेकै कारण जेनजी आन्दोलन भएको बताए । राजनीति, आर्थिक, सामाजिकलगायतका क्षेत्रमा युवा सहभागिता नबढाएसम्म सोचेजस्तो देश विकास गर्न नसक्ने उनको दाबी थियो ।
तीनै तहको सरकारमा युवाको सहभागिता बढाएर भ्रष्टाचारलाई नियन्त्रण गर्नुपर्नेमा उनले जोड दिए । सोही अवसरमा ‘जलवायु परिवर्तन तथा विपद जोखिम न्यूनीकरण र समाधानका उपायहरू बहुपक्षीय संवाद’ आयोजना गरिएको थियो ।
जलवायु परिवर्तनका कारण मानव जीवन नै संकटमा पर्ने जोखिम बढ्दै गएको वक्ताहरूले बताए । उनीहरूले जलवायु परिवर्तनबाट सिर्जित जोखिम न्यूनीकरणका लागि तीनै तहको सरकारसहित सरोकारवाला निकाय लाग्नुपर्नेमा जोड दिए ।
गैसस महासंघका केन्द्रीय अध्यक्ष अर्जुन भट्टराईले संस्थाहरू पनि सुध्रिनुपर्नेमा जोड दिए । उनले ठेला–रिक्सादेखि जग्गा प्लटिङ गर्ने संस्था पनि एउटै ऐनअन्तर्गत दर्ता भएका कारण अरुले गरेको नराम्रो कामको दोष पनि गैससहरू माथि लाग्ने गरेको बताए ।
गैससका प्रदेश अध्यक्ष लखनलाल साहको अध्यक्षतामा भएको कार्यक्रममा गैससकी केन्द्रीय वरिष्ठ उपाध्यक्ष नानीमैया थापा, महासचिव देवी खड्का, सचिव सरिता आङदाम्बे, केन्द्रीय सदस्य सुमन परियार, सिर्जना बस्नेत, बालकृष्ण ओझा, मोरङ अध्यक्ष विष्णु शर्मा, नियोगका प्रतिनिधि देवी बास्तोलालगायतले राजनीतिसहित सबै क्षेत्रमा पुस्तान्तरण जरुरी रहेको धारणा राखेका थिए ।

संगालोखबर 













