
विराटनगर । विराटनगरको एस्पायर कलेजले ६ हप्ते अन्तर्राष्ट्रिय एडटेक बुटक्याम्प तथा दुई दिने ह्याकाथन सम्पन्न गरेको छ । शिवम् अर्गनाइजेसनको आर्थिक सहयोग र दक्षिण कोरियाको छन्जे एजुकेशनको प्राविधिक सहयोग तथा सहकार्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
समापन समारोहमा उत्कृष्ट आइडिया पिचिङ गरि प्रथम स्थान हाँसिल गर्ने प्रनिशा पौडेल, ग्रेशा बोगटी र सरिता मगरको समूहलाई ५० हजार नगद पुरस्कार प्रदान गरिएको छ ।
यस्तै द्वितीय हुने विनम पौडेल, दीक्षा राई र निकेश राजवंशीको समूहलाई ३० हजार र तृतीय हुने सुशान्त नेपाल, कुशल कुँवर र आयुष मेहताको समूहलाई १५ हजार नगद पुरस्कार प्रदान गरिएको क्याम्पस प्रमुख सि.एम. बस्नेतले जानकारी दिए ।
यस्तै पुरुषतर्फ अनिश श्रेष्ठ र महिलातर्फ पुष्प कुमारी रायले उत्कृष्ट राइजिङ स्टारको सम्मान प्राप्त गरे । बुटक्याम्प तथा ह्याकाथनमा सहभागी ३६ जना विद्यार्थीहरूलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।
कलेजकी शैक्षिक संयोजक प्रितिका बस्नेतका अनुसार छ हप्ते बुटक्याम्प अवधिमा विद्यार्थीहरूले कोडिङ वर्कफ्लो, इन्टरेक्टिभ लर्निङ सिस्टम, डिजाइन तथा डिजिटल कन्टेन्ट विकासमा प्रत्यक्ष अनुभव हासिल गरे । यस्तै २ दिने ह्याकाथनमा १२ टोलीले आफ्ना परियोजनाहरू प्रस्तुत गरेका थिए ।
आगामी दिनमा यस्ता अन्तर्राष्ट्रिय कार्यक्रमलाई निरन्तरता दिँदै थप अर्को चरणको बुटक्याम्प, प्रत्यक्ष परियोजना सहभागिता तथा दीर्घकालीन शैक्षिक सहकार्य विस्तार गर्ने योजना रहेको क्याम्पसका अध्यक्ष विकास अधिकारीले बताए ।

संगालोखबर 













