
विराटनगर । विराटनगर-१० स्थित मार्टस मेमोरियल स्कुलले सरस्वती पूजाको अवसरमा आयोजना गरिएको अन्तर भजनकीर्तन प्रतियोगितामा पारिजात भजन समूह प्रथम भएको छ । १६ वटा समूहलाई पछि पार्दै पारिजातले उपाधिसहित नगद २० हजार रुपैयाँ र प्रमाणपत्र प्राप्त गरेको हो ।
प्रतियोगितामा उदयतारा भजन मण्डली द्वितीय हुँदै नगद १५ हजार रुपैयाँ र प्रमाणपत्र प्राप्त गर्यो । यस्तै निर्मल टोल भजन समूह तृतीय हुँदै नगद १० हजार र शान्ति भजन मण्डलीले सान्त्वना पुरस्कारस्वरूप नगद ५ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरेका छन् ।
कवि तथा पत्रकार मीनकुमार नवोदितको संयोजकत्वमा गठन गरिएको निर्णायक समितिमा झापाका भजन सङ्गीतकार विनोद खतिवडा र दिनेश खरेल सहभागी थिए । प्रतियोगितामा सहभागी सबै भजन समूहलाई प्रोत्साहनस्वरूप नगद १ हजार ५ सय, प्रमाणपत्र र ट्रफी प्रदान गरिएको स्कुलका सञ्चालक सीएम श्रेष्ठले जानकारी दिए ।
विद्यालयका सञ्चालक श्रेष्ठले सनातन धर्मप्रति बालबालिकाको आस्था जागृत गराउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए ।
उनले आगामी वर्ष भजन प्रतियोगितालाई अझै बृहत्तर र व्यवस्थित रूपमा विस्तार गर्ने उल्लेख गरे । सरस्वती पूजाको अवसरमा प्ले ग्रुपमा ८७ जना विद्यार्थी भर्ना भएका उनले जानकारी दिए ।

संगालोखबर 













