
धनकुटा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गराएका धनकुटाका उम्मेदवारमाथि कुनै पनि उजुरी नपरेको पाइएको छ । धनकुटामा राजनीतिक दलका १४ र चार स्वतन्त्र गरी १८ जनाको उम्मेदवारी दर्ता भएकोमा कसैमाथि पनि उजुरी नपरेको हो ।
निर्वाचन आयोगले उम्मेदवारहरू माथि उजुरी गर्नका लागि बुधबार समय निर्धारण गरेको थियो । सो अवधिमा उम्मेदवारमाथि कसैले पनि उजुरी नगरेको निर्वाचन कार्यालय धनकुटाका सूचना अधिकारी सुरज श्रेष्ठले जानकारी दिए ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार दाबी विरोध नपरेपछि निर्वाचन तालिका अनुसार उम्मेदवारहरूको नामावली प्रकाशनको प्रक्रिया अघि बढाइएको छ । भोलि उम्मेदवारको अन्तिम नामावली प्रकाशनका साथै उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यतालिका छ ।
धनकुटामा नेपाली काँग्रेसबाट दिनेश राई, नेकपा एमालेबाट राजेन्द्र कुमार राई, नेपाली कम्युनिष्ट पार्टीबाट धर्मराज पौडेल, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट विभत्सु थापा, नेपाल मजदुर किसान पार्टीबाट उत्तम साखकर्मी र जनता समाजवादी पार्टीबाट निशान राई उम्मेदवार छन् ।
यस्तै जनता समाजवादी पार्टीबाट आइतराज लिम्बु, राष्ट्रिय परिवर्तन पार्टीबाट शालिकराम राई, संघीय लोकतान्त्रिक मञ्चबाट बालकुमार ताम्ली, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) बाट रविन कुमार राई उम्मेदवार छन् ।
आम जनता पार्टीबाट प्रेमबहादुर थापा, मंगोल नेशनल अर्गनाइजेसन पार्टीबाट सागर राई, स्वतन्त्रबाट मनकुमार योञ्जन, जितेन्द्र राई, गंगाराम गोम्देन र लाक्पा तामाङले उम्मेदवारी दिएका छन् ।

संगालोखबर 













