
विराटनगर । मोरङको रतुवामाई नगरपालिका-५ चटपटे चोकमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् ।
आज बिहान ९ बजे चटपटे चोकबाट गोबिन्दपुरतर्फ आउँदै गरेको को २ त १९३६ नम्बरको सिमेन्ट मिक्सर मेसिन जडान भएको ट्याक्टर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
ट्याक्टरमा जडान गरिएको मिक्सर मेसिन छुटेर किच्दा सुनवर्षी नगरपालिका-९ का २१ वर्षीय किसन कुमार मण्डलको घटनास्थलमै मृत्यु भएको मोरङ प्रहरीका सूचना अधिकारी हरिनन्दन चौधरीले जानकारी दिए ।
यस्तै दुर्घटनामा गम्भीर घाइते भएका सुनवर्षी-९ कै २० वर्षीय रविन पासवानको उपचारका क्रममा करिब १०ः४३ बजे रंगेली अस्पतालमा मृत्यु भएको डीएसपी चौधरीले बताए ।
दुर्घटनामा सोही स्थानका ३५ वर्षीय राज मण्डल गम्भीर घाइते भएका छन् । उनलाई थप उपचारका लागि विराटनगरस्थित न्युरो अस्पताल पठाइएको प्रहरीले जनाएको छ । उनीहरूको शव रंगेली अस्पतालमा राखिएको छ ।
दुर्घटना लगत्तै फरार भएका ट्याक्टर चालक रंगेली नगरपालिका-५ आँपगाछीका २४ वर्षीय दिपेन महतोलाई स्थानीयले कुटपिट गरेर घाइते बनाएको अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनको नगर अस्पताल झुर्कियामा उपचार भइरहेको छ ।

संगालोखबर 













