
विराटनगर । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन भयरहित वातावरणमा सम्पन्न गर्न मोरङमा राजनीतिक दलहरू सहमत भएका छन् । निर्वाचनलाई व्यवस्थित एवं मर्यादित बनाउने उद्देश्यले आज विराटनगरमा भएको सर्वदलीय एवं सर्वपक्षीय बैठकमा राजनीतिक दलहरू सहमत भएका हुन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय मोरङले आयोजना गरेको बैठकमा मोरङ जिल्लाका सबै राजनीतिक दलका प्रमुख, ६ वटै निर्वाचन क्षेत्रका निर्वाचन अधिकृत तथा निर्वाचन कार्यालय तथा जिल्ला स्थित सुरक्षा निकायका प्रमुखसहित सरोकारवालाको सहभागिता थियो ।
बैठकमा माघ ६ गते हुन लागेको मनोनयन दर्ता प्रक्रिया, निर्वाचन आचार संहिता, निर्वाचन निर्देशिका तथा राजनीतिक दलले मनोनयन दर्ता गर्ने समयका विषयमा छलफल भएको थियो ।
मुख्य निर्वाचन अधिकृत भीष्मराज प्रसाईँले विशेष परिस्थितिमा हुन लागेको निर्वाचनलाई सफल बनाउने दायित्व सबै राजनीतिक दलको भएको बताए । सामाजिक सञ्जालमा आउने निर्वाचन सम्बन्धी गलत प्रचार-प्रसारले निर्वाचनमा असर पर्ने भन्दै त्यसतर्फ राजनीतिकदलहरू सचेत हुनुपर्ने उनले बताए ।
मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले निर्वाचन शान्तीपूर्ण एवं भयरहित वातावरणमा सम्पन्न गर्नेगरी सुरक्षाको सबै प्रबन्ध मिलाइसकेकाले उल्लेख गरे । निर्वाचन कार्यालय मोरङका प्रमुख चोलाराज दंगालले निर्वाचनको तयारीका विषयमा जानकारी गराएका थिए ।
प्रतिनिधिसभा निर्वाचनका लागि मोरङको ६ वटा निर्वाचन क्षेत्रमा ३ सय ६ वटा मतदान स्थल र ८ सय ८८ वटा मतदान केन्द्र निर्धारण गरिएको छ । मोरङमा ७ लाख ८३ हजार ५० मतदाता रहेका छन् ।

संगालोखबर 













