
विराटनगर । नेकपा एमालेले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारको टुङ्गो लगाएको छ । शनिबार राती सम्पन्न एमाले केन्द्रिय सचिवालय बैठकले देशभरका निर्वाचन क्षेत्रका उम्मेदवार टुङ्गो लगाएको हो ।
कोशी प्रदेशका २८ निर्वाचन क्षेत्रमध्ये २२ वटामा उम्मेदवारको टुङ्गो लागेको छ भने बाँकी ६ क्षेत्रका उम्मेदवार टुङ्गो लाग्न बाँकी छ । पूर्व प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली झापा क्षेत्र नम्बर ५ बाट चुनाव भिड्ने भएका छन् । सो क्षेत्रबाट २०४८ सालयता ओली चुनाव भिड्दै आएका छन् । एमाले पडक क्षेत्र मानिने झापा–५ मा २०६४ सालको संविधानसभा निर्वाचन बाहेक सबै चुनाव ओलीले जितेका छन् ।
एमाले सचिव शेरधन राई भोजपुरबाट र अर्का सचिव भानुभक्त ढकाल तेह्रथुमबाट चुनाव भिड्ने भएका छन् । ढकाल यसअघि मोरङ क्षेत्र नम्बर ३ बाट चुनाव भिड्दै आएका थिए ।
यस्तै मोरङ क्षेत्र नम्बर १ मा एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडा, २ मा केन्द्रिय सदस्य दिलीप बगडिया, ३ मा दिलीप राई र ४ मा केन्द्रिय सदस्य जीवन घिमिरेको नाम टुङ्गो लागेको छ । मोरङ क्षेत्र नम्बर ५ र ६ मा भने उम्मेदवारको टुङ्गो लाग्न बाँकी छ । यसैगरी धनकुटामा एमालेले पार्टीका केन्द्रिय सदस्य एवं पूर्वमन्त्री राजेन्द्र राईलाई टिकट दिएको छ ।
झापा क्षेत्र नम्बर १ मा रामचन्द्र उप्रेती, २ मा देवराज घिमिरे र ४ मा मनोज ताम्लीको नाम टुङ्गो लागेको छ । ५ वटा निर्वाचन क्षेत्र रहेको झापामा ३ नम्बर क्षेत्रका उम्मेदवारको नाम टुङ्गो लाग्न बाँकी छ ।
सुनसरीको क्षेत्र नम्बर १ मा सूर्य पन्दाक र ४ मा भगवती चौधरीको नाम टुङ्गिएको छ भने क्षेत्र नम्बर २ र ३ मध्ये एउटामा जगदीश प्रसाद कुसियातको नाम टुङ्गो लाग्नेछ । बाँकी एक क्षेत्रमा उम्मेदवारको नाम टुङ्गो लाग्न बाँकी छ । यस्तै ताप्लेजुङमा पनि उम्मेदवारको नाम टुङ्गो लगाउन बाँकी छ ।
पाँचथरमा आइन्द्रसुन्दर नेम्वाङ, इलाम १ मा काजिमान कागते र २ मा सुहाङ नेम्वाङको नाम टुङ्गो लागेको छ । संखुवासभामा डा.अर्जुन कार्की, सोलुखुम्बुमा कल्पना राई, ओखलढुंगामा अस्मिता थापा, उदयपुर क्षेत्र नम्बर १ मा दुर्गाकुमार थापा ‘स्वोस्ती’, क्षेत्र नम्बर २ मा अमर रायमाझी र खोटाङमा देवविक्रम राईको नाम टुङ्गो लागेको छ ।
बाँकी उम्मेदवारको नाम टुङ्गो लगाउने जिम्मा अध्यक्ष केपी शर्मा ओलीलाई दिइएको छ ।

संगालोखबर 













