
विराटनगर । कोशी प्रदेशमा पुस महिनामा मात्रै सवारी दुर्घटनामा परेर ३७ जनाले ज्यान गुमाएका छन् । दुर्घटनामा नौ सय चार जना घाइते भएका छन् ।
पाँच सय ७० वटा घटनामा आठ सय २७ वटा सवारी-साधन दुर्घटनामा परेका नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले जनाएको छ ।
कार्यालयको तथ्याङ्क अनुसार चालकको लापरबाहीका कारण सबैभन्दा बढी दुर्घटना भएका छन् । चालकको लापरबाहीका कारण पुस महिनामा चार सय ५९ वटा दुर्घटना भएका ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सन्तोष श्रेष्ठले जानकारी दिए ।
यस्तै सवारी साधनको अवस्थाका कारण ३६, यात्रुको कारण ४१, सडकको अवस्थाका कारण २६, हुस्सु तथा कुहिरोका कारण ६ र पशुचौपायाका कारण दुई वटा दुर्घटना भएका उनले बताए ।
सो अवधिमा आठ हजार आठ सय ८६ सवारी-साधन चेकजाँच गर्दा ८८ लाख ९१ हजार राजश्व संकलन भएको कार्यालयले जनाएको छ । मंसिर महिनामा भएको दुर्घटनामा ३२ जनाले ज्यान गुमाएका थिए ।

संगालोखबर 













