संगालोखबर

विराटनगर । सुनसरीको भोक्राहा नर्सिङ गाउँपालिका-८ स्थित सोनियाहीमा ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । विराटनगरबाट सप्तरीको राजविराजतर्फ जाँदै गरेको टायल र मार्बल लोड गरिएको ट्रक दुर्घटना हुँदा पाँच जना मजदुरको मृत्यु भएको हो ।

दुर्घटनामा सुनसरीको बर्जु गाउँपालिका-१ का ३२ वर्षीय धिरेन्द्र गुरुङ, ५५ वर्षीय ब्रह्मदेव गुरुङ, ५० वर्षीय टंक गुरुङ, २८ वर्षीय निसु गुरुङ र ५५ वर्षीय चन्द्र गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

आज बिहान करिब ५ः३० बजे को १ ख ४५४१ नम्बरको ट्रक दुर्घटनामा परेको सुनसरीका प्रहरी प्रवक्ता डीएसपी चन्द्रबहादुर खड्काले जानकारी दिए । तीव्र गतिमा रहेको ट्रक अनियन्त्रित भएर पल्टिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । ट्रकको पछाडि सामानमाथि बसेका ५ जना मजदुरको टायल र मार्बलले थिचिएर घटनास्थलमै मृत्यु भएको डीएसपी खड्काले जानकारी दिए ।

ट्रकमा चालकसहित ९ जना सवार थिए । जसमध्ये अगाडि क्याबिनमा सवार ४ जनामध्ये ३ जना सामान्य घाइते भएका छन् । उनीहरूको विराटनगरस्थित विराट नर्सिङ होममा उपचार भइरहेको छ । चालक फरार भएकाले उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!