
विराटनगर । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि मोरङमा ३ सय ६ मतदान स्थल कायम गरिएको छ । जसमा ८ सय ८८ मतदान स्थल तोकिएको छ ।
कोशी प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकृत तीर्थराज अधिकारीका अनुसार २०७९ को निर्वाचनमा भन्दा यसपटक मोरङमा ३९ वटा मतदान केन्द्र थप भएका हुन् ।
एक मतदान केन्द्र बराबर एक जना मतदान अधिकृत, एक जना सहायक मतदान अधिकृत, तीन जना कर्मचारी र एक जना कार्यालय सहयोगी रहने सूचना अधिकृत अधिकारीले जानकारी दिए ।
कार्यालयका अनुसार मोरङमा कुल ७ लाख ८३ हजार ५० जना मतदाता छन् । जसमा पुरुषको सङ्ख्या ३ लाख ९९ हजार ६ सय ८६ र महिलाको सङ्ख्या ३ लाख ८३ हजार ३ सय ५७ छ । मोरङमा ६ वटा निर्वाचन क्षेत्र छन् ।
२०७९ को निर्वाचन भन्दा यसपटक ४१ हजार २ सय ९५ मतदाता बढेका कार्यालयले जनाएको छ । निर्वाचन आयोगले २०८२ साल कात्तिक १६ गतेसम्म मतदाता नामावलीमा नाम दर्ताको समय तोकेको थियो । सोही अवधिमा उक्त संख्या थपिएको निर्वाचन कार्यालयले जनाएको छ ।

संगालोखबर 













