
विराटनगर । मोरङको बेलबारीमा शुक्रबारबाट दोस्रो बेलबारी महोत्सव आयोजना हुने भएको छ । महोत्सवको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले औपचारिक शुभारम्भ गर्नेछन् ।
बेलबारी उद्योग वाणिज्य संघको आयोजनामा पुस २५ गतेदेखि सुरु हुने महोत्सव माघ ५ गतेसम्म सञ्चालन हुनेछ । ‘स्थानीय उत्पादनलाई प्राथमिकता-स्वावलम्बी अर्थतन्त्रको आधार’ भन्ने मुख्य नाराका साथ आयोजना हुन लागेको महोत्सवले स्थानीय आर्थिक विकास र पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण टेवा पुर्याउने लक्ष्य राखिएको छ ।
आयोजकले बुधबार पत्रकार सम्मेलन गर्दै आवश्यक तयारी पूरा भएको जानकारी दिएको छ । बेलबारी उद्योग वाणिज्य संघका महासचिव विवेक मिश्रले करिब ३ लाख दर्शकले महोत्सव अवलोकन गर्ने जानकारी दिए ।
महोत्सवमा करिब १ करोड ६७ लाख रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ भने १ करोड २७ लाख रुपैयाँ खर्च हुने जनाइएको छ । महोत्सवबाट बचत हुने अनुमानित ४० लाख रुपैयाँ उद्योग वाणिज्य संघ बेलबारीको आफ्नै भवनको माथिल्लो तलामा बहुउद्देश्यीय सभाहल निर्माणमा खर्च गरिने संघले जनाएको छ ।
महोत्सवमा कुल ६३ वटा व्यापारिक स्टलहरू रहनेछन् । महोत्सवमा कृषि, पशुपक्षी, औद्योगिक उत्पादन, हस्तकलाका सामग्रीका साथै दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारी साधनका स्टलहरू रहनेछन् ।
मनोरञ्जनका लागि महोत्सवमा दैनिक रूपमा राष्ट्रिय तथा स्थानीय स्तरका चर्चित कलाकारहरू, साङ्गीतिक व्याण्डहरू र विभिन्न सांस्कृतिक समूहहरूको प्रस्तुति रहनेछ ।

संगालोखबर 
















