
विराटनगर । मोरङको रंगेली नगरपालिका-१ स्थित त्रिभुवन माध्यमिक विद्यालयलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । नगरपालिकाले विद्यालयलाई आवश्यक पर्ने प्राथमिक उपचारका औषधि तथा उपकरणहरू हस्तान्तरण गरेका हुन् ।
नगरपालिका स्वास्थ्य शाखा प्रमुख भूपेन्द्र प्रसाद मण्डलले विद्यालयका प्रधानाध्यापक केशरबहादुर बानियाँ, सहायक प्रधानाध्यापक टंकबहादुर खत्री तथा विद्यालयकी नर्स ममता चौधरीलाई सामग्री हस्तान्तरण गरेका छन् ।
रंगेली नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ देखि पालिकाभित्रका तीनवटा विद्यालयलाई नर्सिङ सेवा सुविधा दिएको हो । पब्लिक माध्यमिक विद्यालय, गणेश माध्यमिक विद्यालय र त्रिभुवन माध्यमिक विद्यालयलाई नर्सिङ सेवा प्रदान गरिएको स्वास्थ्य शाखा अधिकृत मण्डलले जानकारी दिए ।
सामान्य चोटपटक, रुघाखोकी, पेट दुखाई, ज्वरो लगायतका समस्या भएमा विद्यार्थीहरूले विद्यालयमै प्राथमिक उपचार पाउने गरेका छन् ।
आगामी दिनहरूमा पालिका अन्तर्गत सबै विद्यालयहरूमा विद्यालय स्वास्थ्य नर्सिङ सेवा कार्यक्रम ल्याउन नगरपालिकालाई प्रधानाध्यापक बानियाले आग्रह गरे ।

संगालोखबर 
















