
विराटनगर । कोशी प्रदेशका नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् । उनीहरूलाई प्रदेश प्रमुख पर्शुराम खापुङले सपथ खुवाएका हुन् । नयाँ मन्त्रीमा एमालेका तर्फबाट विदुर लिङथेप, तिलचन पाठक, इन्द्रमणि पराजुली र रामप्रसाद महतो छन् ।
लिङथेपलाई आर्थिक मामिला तथा योजना, पाठकलाई खानेपानी सिँचाइ तथा ऊर्जा, पराजुलीलाई आन्तरिक मामिला तथा कानुन र महतोलाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
नेपाली काँग्रेसको तर्फबाट प्रदीप सुनुवार, भीम पराजुली, मानबहादुर लिम्बू र इस्राइल मन्सुरी नयाँ मन्त्री बनेका छन् । सुनुवारलाई भौतिक पूर्वाधार, पराजुलीलाई पर्यटन, वन तथा वातावरण, लिम्बूलाई स्वास्थ्य र इस्राइल मन्सुरीलाई उद्योग कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
काँग्रेसबाट शोभा चेम्जोङ र एमालेबाट उमाकान्त गौतम राज्यमन्त्रीमा नियुक्त भएका छन् । यसअघिका मन्त्रीहरूलाई हटाएर मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् ।

संगालोखबर 
















