
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले आज मन्त्रिपरिषद् पुनर्गठन गर्दैछन् । सत्ता गठबन्धनमा रहेका नेपाली काँग्रेस र नेकपा एमालेबीच वर्तमान मन्त्रीहरूलाई फिर्ता बोलाएर नयाँ अनुहार पठाउने सहमति भएसँगै आज मन्त्रिपरिषद् पुनर्गठन हुँदैछ ।
एमाले र काँग्रेसबाट एक/एक राज्यमन्त्री र चार/चार जना नयाँ मन्त्री बन्दैछन् । एमालेका तर्फबाट विदुर लिङथेप, तिलचन पाठक, इन्द्रमणि पराजुली र रामप्रसाद महतो मन्त्री बन्दैछन् ।
जसमा लिङथेपलाई आर्थिक मामिला तथा योजना, पाठकलाई खानेपानी सिँचाइ तथा ऊर्जा, पराजुलीलाई आन्तरिक मामिला तथा कानुन र महतोलाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिने तय भएको छ । यस्तै उमाकान्त गौतमलाई राज्यमन्त्री बनाउने निर्णय भएको छ ।
नेपाली काँग्रेसको तर्फबाट प्रदीप सुनुवार, भीम पराजुली, मानबहादुर लिम्बू र इस्राइल मन्सुरी मन्त्री बन्दैछन् । जसमध्ये सुनुवारलाई भौतिक पूर्वाधार, पराजुलीलाई पर्यटन, वन तथा वातावरण, लिम्बूलाई स्वास्थ्य र इस्राइल मन्सुरीलाई उद्योग कृषि तथा सहकारी मन्त्री बनाइँदैछ । काँग्रेसबाट शोभा चेम्जोङलाई राज्यमन्त्रीको जिम्मेवारी दिने तयारी छ ।
यसअघि एमालेबाट रेवतीरमण भण्डारी, राम राना, एकराज कार्की, पाँचकर्ण राई र राज्यमन्त्री सिर्जना राई सरकारमा सहभागी थिए । काँग्रेसबाट भूपेन्द्र राई, सदानन्द मण्डल र उद्योग कृषि तथा सहकारीमन्त्री खगेनसिंह हांगाम मन्त्री थिए ।

संगालोखबर 
















