
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले आज मन्त्रिपरिषद् पुनर्गठन गर्ने भएका छन् । नयाँ मन्त्रीको शपथ ग्रहणका लागि प्रदेश प्रमुखसँग आज साँझ साढे ४ बजेको समय लिइएको छ ।
त्यो भन्दा अगाडि वर्तमान सरकारमा रहेका सबै मन्त्रीले राजीनामा दिने तयारी छ । नेपाली काँग्रेस र नेकपा एमालेले आफ्ना मन्त्रीहरूलाई फिर्ता गर्दै नयाँ अनुहार पठाउने समझदारी अनुसार आज मन्त्रिपरिषद् पुनर्गठन हुन लागेको हो ।
वर्तमान सरकारमा एमालेबाट आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारी, आर्थिक मामिला तथा योजनामन्त्री राम राना, खानेपानी ऊर्जा तथा सिँचाइमन्त्री एकराज कार्की, सामाजिक विकासमन्त्री पाँचकर्ण राई र राज्यमन्त्री सिर्जना राई छन् ।
काँग्रेसबाट भौतिक पूर्वाधार तथा स्वास्थ्यमन्त्री भुपेन्द्र राई, पर्यटन वन तथा वातावरणमन्त्री सदानन्द मण्डल, उद्योग कृषि तथा सहकारीमन्त्री खगेनसिं हांगाम छन् ।
एमालेबाट विदुर लिङथेप, तिलचन पाठक, इन्द्रमणि पराजुली र रामकुमार महतो मन्त्री बन्ने टुङ्गो लागेको छ । यस्तै काँग्रेसबाट प्रदीप सुनुवार, भीम पराजुली, मानबहादुर लिम्बू र इस्राइल मन्सुरी मन्त्री बन्दैछन् ।

संगालोखबर 
















