
सुनसरी । सुनसरीको इटहरी-६ स्थित आइतबारेमा विद्युत सर्ट भएर आगलागी हुँदा पाँच वटा पसलमा क्षति पुगेको छ । आज बिहान करिब ४ः४५ बजे सेवारो फ्रेस हाउसबाट विद्युत सर्ट भएर सुरु भएको आगो आसपासका पसलहरूमा पनि फैलिएको हो ।
इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी सुवास हमालले आगलागीका क्रममा फ्रेस हाउसमा रहेका ग्यास सिलिन्डर पड्किएपछि थप पसलमा आगो सल्किएको जानकारी दिए ।
आगलागीका कारण सेवारो फ्रेस हाउस र खड्का फ्रेस हाउस पूर्णरूपमा जलेर नष्ट भएका छन् । प्रहरीका अनुसार सेवारो फ्रेस हाउसमा करिब दुई लाख र खड्का फ्रेस हाउसमा करिब तीन लाख रुपैयाँ बराबरको क्षति भएको छ ।
खड्का फ्रेस हाउसका दुई वटा सटर र सटरभित्र राखिएको एक थान मोटरसाइकल जलेर नष्ट भएको प्रहरीले जनाएको छ । यस्तै नमस्ते फ्रेस हाउस, पूर्वाञ्चल फ्रेस हाउस र गणेश सब्जी पसलमा आंशिक क्षति पुगेको डीएसपी हमालले जानकारी दिए ।
नमस्ते फ्रेस हाउसमा करिब एक लाख १० हजार, गणेश सब्जी पसलमा करिब ८० हजार र पूर्वाञ्चल फ्रेस हाउसमा करिब पाँच हजार रुपैयाँ बराबरको क्षति भएको छ । धरान, झुम्का र दुहबीबाट आएका दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । जेनजी आन्दोलनका क्रममा आगजनी हुँदा इटहरी उपमहानगरपालिकाको दमकल प्रयोगमा आउन सकेको छैन ।

संगालोखबर 
















