
विराटनगर । नेपाल विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्रले समयमै विद्युत महसुल नबुझाउने उपभोक्तामाथि कडाइ गर्न थालेको छ । सोही अनुसार वितरण केन्द्रले चालू आर्थिक वर्षको प्रथम चौमासिक अवधिमा २ सय ४९ उपभोक्ताको लाइन काटेको छ ।
उनीहरूबाट सो अवधिसम्मको ३ करोड ४६ लाख ७६ हजार बढी विद्युत महसुल रकम उठ्न बाँकी रहेकोमा मंसिर मसान्तसम्ममा १ करोड ५८ लाख बढी रकम असुल भएको विराटनगर वितरण केन्द्रका प्रमुख रामउदगार साहले जानकारी दिए । उनका अनुसार समयमा विद्युत महसुल नबुझाउने उद्योग देखि घरघरको लाइन काटिएको हो ।
‘लाइन काटिएपछि उपभोक्ताहरू आएर रकम बुझाउनुहुन्छ । अनि पुनः लाइन जोडिदिन्छौँ’, उनले भने, ‘कसैले आधा रकम दिनुहुन्छ । कसैले सबै पनि दिनुहुन्छ । किस्ताबन्दी मार्फत पनि असुल गरिरहेका छौँ ।’
उनले विद्युत महसुल नबुझाएको ६० दिन कटेपछि लाइन काट्नुपर्ने नियम रहेको बताए । ‘महसुल नबुझाएको ६० दिन कटेपछि लाइन काट्नुपर्ने हो’, उनले भने, ‘तर हामीले चार महिनाभन्दा बढी समयदेखि महसुल नबुझाएका र ३० हजारमाथि बक्यौता भएका उपभोक्ताको लाइन काटिरहेका छौँ ।’
विराटनगर, कटहरी, झोराहाट लगायतका आफ्नो क्षेत्राधिकारभित्र पर्ने सबै स्थानमा बक्यौता बाँकी रहेका उपभोक्ताको लाइन काट्ने क्रम जारी रहेको उनले बताए ।

संगालोखबर 
















