
विराटनगर । मोरङको रंगेली नगरपालिका-७ स्थित संसारीमाई मन्दिरमा चोरी भएको छ । मन्दिरबाट संसारी माताका २ थान साना मूर्ति, ठूलो मूर्तिमा चढाइएका चाँदीका गरगहना तथा दानपेटिकामा भएको नगद चोरी भएको हो ।
रातको समयमा मन्दिरको बाहिर रहेको च्यानल गेटमा लगाएको ताला फोडेर चोरी भएको मोरङ प्रहरीले जनाएको छ । मन्दिरबाट देवीदेवताका मूर्ति, गरगहना तथा दानपेटिकामा रहेको नगद चोरी भएको प्रहरीको भनाइ छ ।
‘पहिला पनि दुई/तीन पटक चोरी भइसकेको भन्ने जानकारी प्राप्त भएको छ’, इलाका प्रहरी कार्यालय रंगेलीका इन्स्पेक्टर नरेन्द्र कुमार बोगटीले संगालोखबरसँग भने, ‘संलग्नको खोजी भइरहेको छ । वरिपरि भएका सिसी क्यामेरा फुटेज पनि अवलोकन गर्ने काम भइरहेको छ ।’
प्रहरीले रातको १२ बजेपछि चोरी भएको हुनसक्ने अनुमान गरेको छ । प्रहरीका अनुसार चोरी योजनावद्ध र समूहमा भएको हुनसक्छ । घटनाका सम्बन्धमा सूक्ष्म अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

संगालोखबर 













