
विराटनगर । सुनसरीमा सशस्त्र प्रहरीले चलाएको गोली लागेर स्थानीयको मृत्यु भएको घटनाको सोधपुछका लागि सशस्त्रका वरिष्ठ हवल्दार नवराज खतिवडालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीसँग घटनाका बारेमा सोधपुछ भइरहेको सुनसरी प्रहरीले जनाएको छ ।
सुनसरीको कोशी गाउँपालिका-१ मा १० बोरा चिनी बोकेको अटो रिक्सालाई नियन्त्रणमा लिने क्रममा सशस्त्र प्रहरीले गोली चलाउँदा स्थानीय ४५ वर्षीय विजय साहको मृत्यु भएको थियो । भारतबाट चिनी लिएर आउँदै गरेका उनीमाथि सशस्त्र प्रहरीले बुधबार मध्यराति गोली चलाएको थियो ।
सोही घटनालाई लिएर बिहीबार दिनभर स्थानीयले लौकही बजारमा प्रदर्शन गरेका थिए । घटनाको सत्यतथ्य पत्ता लगाउन छानबिन समिति बनाउने लगायतका ५ बुँदे सहमति भएपछि अवस्था सामान्य भएको थियो ।

संगालोखबर 
















