
विराटनगर । मोरङको लेटाङ नगरपालिका-२ स्थित फडानीकी १३ वर्षीया बालिका अंशु गौतमको हत्या प्रकरणका मुख्य आरोपी पदमबहादुर अधिकारी पुर्पक्षका लागि कारागार चलान भएका छन् । जिल्ला अदालत मोरङले पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएसँगै उनलाई पुर्पक्षका लागि कारागार चलान गरिएको हो ।
जबरजस्ती करणी उद्योग गरी निर्ममतापूर्वक ज्यान मारेको कसूरमा बिहीबार थुनछेक बहसपछि जिल्ला न्यायाधीश टंकबहादुर महतको इजलासले पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको थियो । उनलाई जिल्ला कारागार मोरङ चलान गरिएको छ ।
गत असोज २१ गते हराएकी अंशुको शव कात्तिक ७ गते टाउको र शरीर अलग भएको अवस्थामा जंगलमा फेला परेको थियो । प्रहरीले मंसिर १८ गते अंशुको हत्या आरोपमा पदमबहादुरलाई पक्राउ गरेको थियो ।
मंसिर २१ गते बलात्कारपछि हत्या भएको निष्कर्षसहित अधिकारीलाई प्रहरीले सार्वजनिक गरेको थियो । बयानका क्रममा उनले बलात्कार प्रयास असफल भएपछि हत्या गरेको स्वीकारेका थिए ।

संगालोखबर 
















