
विराटनगर । सुनसरीको कोशी गाउँपालिका-१ लौकहीमा स्थानीयले प्रदर्शन जारी राखेका छन् । गएराति सशस्त्र प्रहरीले चलाएको गोली लागेर सिटी सफारी चालक ४५ वर्षीय विजय साहको मृत्यु भएपछि स्थानीयले प्रदर्शन गरेका हुन् ।
उनीहरूले राजमार्ग नै अवरुद्ध गरेर प्रदर्शन गरेपछि चतरा हुँदै सवारी-साधन डाइभर्ट गरिएको छ । घटनाका बारेमा जिल्ला प्रशासन कार्यालय इनरुवामा केही बेर अघिबाट छलफल सुरु भएको छ । छलफलमा प्रशासन र सुरक्षा निकायका प्रमुखहरू, जनप्रतिनिधि तथा मृतक परिवारका सदस्यहरू सहभागि छन् ।
घटनालाई लिएर आक्रोशित भएका स्थानीयले सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी)मा पनि आक्रमण गरेका छन् । सुनसरीका प्रहरी प्रवक्ता डीएसपी चन्द्र खड्काका अनुसार अहिले स्थिति सामान्य बन्दै गएको छ ।
गएराति करिब १ः१० बजे भारतबाट चिनी लगायतको सामान लिएर सफारीमा आउँदै गरेका साहलाई सशस्त्र प्रहरीले गोली हानेको थियो । स्थानीयले भने लेनदेनमा कुरा नमिल्दा सशस्त्रले गोली चलाएर हत्या गरेको बताउँदै आएका छन् ।

संगालोखबर 















