
विराटनगर । सुनसरीको कोशी गाउँपालिका-१ मा सशस्त्र प्रहरीको गोली लागेर सिटी सफारी चालकको मृत्यु भएपछि सुनसरीको लौकही बजारको अवस्था तनावपूर्ण बनेको छ । मृतकको शव सडकमा राखेर स्थानीयले आज बिहानै प्रदर्शन गरिरहेका छन् ।
प्रहरीले स्थिति नियन्त्रणमा लिन अश्रु ग्यास प्रहार गरेको छ । गएराति करिब १ः१० बजे तस्करी नियन्त्रणका लागि खटिएको सशस्त्र प्रहरीले चलाएको गोली लागेर ४५ वर्षीय विजय साहको मृत्यु भएको थियो । सफारीमा सामान लिएर भारतबाट आउँदै गर्दा सशस्त्रले उनीमाथि गोली प्रहार गरेको थियो ।
उनलाई दुई गोली लागेको छ । घटनास्थलबाट दुई राउन्ड गोलीको खोका फेला परेको सुनसरीका प्रहरी प्रवक्ता डीएसपी चन्द्रबहादुर खड्काले जानकारी दिए । आक्रोशित भीडले सशस्त्र प्रहरीको अस्थायी बिटमा आगजनी र तोडफोड गरेको छ ।
सशस्त्र प्रहरीले भने तस्करीको सामान ल्याउँदै गरेको समूहलाई रोक्न खोज्दा सुरक्षाकर्मीमाथि नै फायर भएपछि जबाफी फायर भएको जनाएको छ । स्थानीयले यो दोहोरो भिडन्त नभएर हत्या भएको दाबी गर्छन । उनीहरूले पैसामा कुरा नमिलेपछि गोली हानेको आरोप लगाएका छन् ।

संगालोखबर 
















