
धनकुटा । आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि धनकुटामा १ सय १९ मतदान स्थल र १ सय ६६ मतदान केन्द्र कायम गरिएको छ ।
जिल्ला निर्वाचन कार्यलय धनकुटाका अनुसार धनकुटा नगरपालिकामा १५्र मतदान स्थलमा २९ मतदान केन्द्र, महालक्ष्मी नगरपालिकामा २१ मतदान स्थलमा २७ मतदान केन्द्र र पाख्रीबास नगरपालिकामा १५ मतदान स्थलमा २३ मतदान केन्द्र कायम भएका छन् ।
यस्तै साँगुरीगढी गाउँपालिकामा २१ मतदान स्थलमा २६ मतदान केन्द्र र चौबिसे गाउँपालिकामा २१ मतदान स्थलमा २४ मतदान केन्द्र कायम भएको जिल्ला निर्वाचन कार्यालय धनकुटाका सूचना अधिकारी सुरज श्रेष्ठले जानकारी दिए ।
छथर जोरपाटी गाउँपालिकामा १२ मतदान स्थलमा १८ मतदान केन्द्र र सहिदभूमि गाउँपालिकामा १४ मतदान स्थलमा १९ मतदान केन्द्र कायम भएका छन् । धनकुटामा अघिल्लो निर्वाचनमा १ सय १९ मतदान स्थल र १ सय ६२ मतदान केन्द्र रहेका थिए ।
प्रतिनिधिसभा सदस्यमा एउटा मात्रै निर्वाचन क्षेत्र रहेको धनकुटामा निर्वाचनका लागि आवश्यक तयारी तीब्र पारिएको निर्वाचन कार्यालयले जनाएको छ ।

संगालोखबर 
















