
विराटनगर । मोरङको केराबारी गाउँपालिका-५ लाफा टोलबाट प्रहरीले गोली चलाएर गाँजा बोकेको एम्बुलेन्स नियन्त्रणमा लिएको छ । आइतबार राति ११ बजे हवाई फायर गरेर गाँजा बोकेको एम्बुलेससहित प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा एम्बुलेन्स चालक धनकुटाको सहिदभूमि गाउँपालिका-६ का ३५ वर्षीय निश्चल राई र एम्बुलेन्समै सवार साँगुरीगढी गाउँपालिका-२ का २० वर्षीय खगेन्द्र लिम्बू छन् ।
धनकुटाबाट मोरङतर्फ गाँजा ल्याइँदैछ भन्ने विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले प्रदेश १-०६-००१ झ ०००४ नम्बरको एम्बुलेन्सलाई प्रहरीले केराबारी-५ लाफा टोलमा रोक्न खोजेको थियो ।
प्रहरीलाई देख्नासाथ एम्बुलेन्स छाडेर चालक र सवार व्यक्ति फरार हुन खोजेपछि उनीहरूलाई नियन्त्रणमा लिन चाइनिज पेस्तोलबाट १ राउन्ड हवाई फायर गरेको मोरङका प्रहरी प्रवक्ता डीएसपी कोपिला चुडालले जानकारी दिइन् ।
एम्बुलेन्स धनकुटाको सहिदभूमि गाउँपालिका-१ खाल्सा–छिन्ताङस्थित सूर्यबहादुर थापा प्रतिष्ठानको नाममा सञ्चालित रहेको पाइएको प्रहरीले जनाएको छ । ‘एम्बुलेन्स र बरामद भएको गाँजासहित पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय बेलबारीमा राखिएको छ’, डीएसपी चुडालले संगालोखबरसँग भनिन्, ‘गाँजाको तौल गर्न बाँकी छ । अनुसन्धान भइरहेको छ ।’
बरामद भएको गाँजा ५२१ किलो रहेको प्रहरीले जनाएको छ । गाँजाको तौल हुन बाँकी छ । शनिबार राति पनि प्रहरीले मोरङको जहदा गाउँपालिका-२ तारिगामाबाट गोली चलाएर ३ सय ३० किलो गाँजासहित दुई भारतीय नागरिकलाई नियन्त्रणमा लिएको थियो ।

संगालोखबर 













