
विराटनगर । मोरङको कटहरी गाउँपालिका-४ स्थित विकास पोद्दार स्मृति परिषद्को अक्षय कोषबाट दुई जना विद्यार्थीलाई नगद छात्रवृत्ति सहित सम्मान गरिएको छ ।
विराटनगरस्थित सेन्ट जोसेफ माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत वरदान केसी र कटहरी गाउँपालिका-४ स्थित भगवती आधारभूत विद्यालयमा कक्षा-७ मा अध्ययनरत सुकुमारी किस्कुलाई छात्रवृत्ति प्रदान गरिएको हो ।
सेन्ट जोसेफका केसीलाई नगद २१ हजार र भगवती आधारभूत विद्यालयकी किस्कुलाई नगद ११ हजार छात्रवृत्ति प्रदान गरिएको परिषद्का अध्यक्ष तथा संरक्षक देवानन्द पोद्दारले जानकारी दिए ।
उनीहरूलाई कार्यक्रमका प्रमुख अतिथि कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरीले नगदसहित सम्मान गरेका थिए । कोषका अध्यक्ष तथा संरक्षक देवानन्दका छोरा विकासको २०७९ पुस १२ गते जर्मनीमा मृत्यु भएको थियो । उनी उच्च शिक्षा अध्ययनका लागि जर्मनी गएका थिए ।
सोही अवसरमा पाँच जना गरिब तथा असहाय परिवारलाई न्यानो कपडा वितरण गरिएको थियो । कटहरी गाउँपालिका-५ मा विकास पोद्दार स्मृति परिषद्को नाममा ६ कट्ठा जग्गामा नयाँ संरचना बनाइने बताइएको छ । आगामी आर्थिक वर्षमा कटहरी गाउँपालिकाले आवश्यकता अनुसार परिषद्लाई आर्थिक सहयोग गर्ने घोषणा गरेको छ ।

संगालोखबर 













