सन्तोष सुवेदी/संगालोखबर


धनकुटा । धनकुटा नगरपालिका-९ मूलघाट स्थित तमोर नदीमा अण्डरपास निर्माण थालिएको छ । संखुसभामा निर्माणधीन अरुण तेस्रो जलविद्युत आयोजनाको भारवहन समान लैजान अण्डरपास निर्माण थालिएको हो ।

भारी सामग्री पुलबाट लैजान जोखिम भएपछि अण्डरपास निर्माण थालिएको हो । आयोजनाले करिब ६० मिटर लामो अण्डरपास बनाउने छ । कोशी राजमार्गमा पर्ने धरान–धनकुटा सडक खण्डअन्तरगत मूलघाटमा २ सय मिटर लामो पक्की पुल छ ।

Advertisement

तर उक्त पुलको अधिकतम भारवहन क्षमता ७० टन मात्रै छ । निर्माणधीन आयोजनाका लागि ट्रान्सफर्मर, टर्बाइनलगायतका भारी उपकरणसहित १ सय ४० टनसम्म सामाग्री आउँदै गरेको आयोजनाका डीजीएम पंकज आनन्दले बताए ।

सडक विभागको स्वीकृतिसँगै नेपाल सरकारको अनुमति पाएपछि अण्डरपास बनाउन सुरु गरिएको आयोजनाले जनाएको छ । बढी तौल भएका भारवहन सामग्री लोड गरिएका ट्रक पुलबाट तार्दा पुलमा क्षति पुग्ने जनाइएको छ ।

हिउँदको समय भएकाले तमोर नदीमा पानीको सतह कम छ । पानीको सतह बढ्नुअघि नै भारी सामग्री ओसारिसक्ने तयारी रहेको आयोजनाले जनाएको छ ।

सडक डिभिजन कार्यालय धनकुटाका प्रमुख राजेन्द्रप्रसाद साहका अनुसार धरान–धनकुटा सडकको अधिकतम भारवहन क्षमता करिब ४० टन मात्रै छ । जसले गर्दा सो भन्दाबढी भारका मालवाहक सवारीसाधन सञ्चालन गर्न नपाइने उनले बताए ।

डीजीएम आनन्दले परियोजना निर्माणका लागि राजमार्ग प्रयोग गरी सामग्री ओसारपसार गर्न नेपाल सरकारले स्वीकृति दिएको दाबी गरे ।

धनकुटाका प्रमुख जिल्ला अधिकारी विनोद कुमार खड्काले राष्ट्रिय गौरवको आयोजना भएकाले सहमतिमार्फत माथिबाटै सहजीकरण हुने बताए । सडक सञ्जालले छुने सबै पालिकाहरूसँग समन्वय गरी निर्माणधीन अरुण तेस्रो जलविद्युत आयोजनाले भारवहन समान लैजान समन्वयकारी भूमिका खेलेको उनले बताए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!