
धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका-२ स्थित धारापानी आधारभूत विद्यालयका विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरिएको छ । ईसीडी देखि कक्षा ८ सम्मका सम्पूर्ण विद्यार्थीहरूलाई स्विटर र टोपी वितरण गरिएको हो ।
विद्यालयका शिक्षक तथा कर्मचारीहरूले रकम संकलन गरेर विद्यार्थीहरूलाई कपडा वितरण गरेका हुन् । चिसोका कारण विद्यार्थीहरू बिरामी पर्नुका साथै विद्यालय आउन समस्या भएपछि न्यानो कपडा वितरण गरिएको विद्यालयका प्रधानाध्यापक कैलाश ढुङ्गानाले जानकारी दिए ।

अभिभावकहरूको विद्यालयप्रति चासो बढ्दै गएको र शैक्षिक गुणस्तर वृद्धि हुने अपेक्षासहित कपडा वितरण गरिएको उनको भनाइ छ । चौबिसे गाउँपालिका-२ का वडाध्यक्ष एनोज तुम्सा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ममिन्द्र कुमार लिम्बु र अभिभावकहरूको उपस्थितिमा न्यानो कपडा वितरण गरिएको थियो ।



संगालोखबर 













