
सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका-१९ मिलनचोकस्थित भित्री सडक खण्डमा स्कुल बसले अटोलाई ठक्कर दिँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा अटो चालक धरान-१९ का २४ वर्षीय निमेष भुजेलको मृत्यु भएको हो ।
गम्भीर घाइते भएका उनलाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
आज बिहान करिब ९ः४० बजे मिलनचोकबाट भोटेपुलतर्फ गइरहेको को १ क ७८२ नम्बरको विष्णु मेमोरियल स्कुलको बसले विपरीत दिशाबाट आइरहेको को १ ह ८७७४ नम्बरको अटोलाई ठक्कर दिएको थियो । अटोमा सवार धरान-१९ का ४८ वर्षीय टिकराम लिम्बु गम्भीर घाइते भएका छन् ।
उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक जीवन कुँवरले संगालोखबरलाई जानकारी दिए । बस चालक धरान-१४ का २९ वर्षीय अमिर तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

संगालोखबर 













