संगालोखबर


विराटनगर । धनकुटाको पाख्रीबास नगरपालिकाका नगरप्रमुख ज्ञानबहादुर गुरुङले संघीय सरकारप्रति असन्तुष्टि जनाउँदै पत्र पठाएका छन् । आज संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र पठाउँदै उनले दिनहुँ फरक-फरक प्रमुख प्रशासकीय अधिकृत पठाइदिन भन्दै व्यङ्ग्य गरेका हुन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई बोधार्थ गरिएको पत्रमा पाख्रीबास नगरपालिकामा दैनिक प्रशासनिक तथा आर्थिक कामकाज हुँदा र नहुँदा कुनै समस्या नरहेको उल्लेख गरिएको छ ।

Advertisement

‘धान फल्न, दाही गर्न, थन्क्याउन, बालीनाली लगाउन, गाई भैँसी ब्याउन, दूध उत्पादन गर्न, सिँचाइ गर्न, फलफूल लगाउन फूल्न, फल्न र सो को निकासा गरी बिक्रीवितरण गर्न कुनै समस्या नरहेकोले मन्त्रालयबाट प्रत्येक महिना वा सम्भव भए दिनदिनै छुट्टाछुट्टै एक/एक जना प्रमुख प्रशासकीय अधिकृतलाई जिम्मेवारी तोकी पठाउँदा पनि फरक नपर्ने व्यहोरा जानकारीको लागि अनुरोध छ’, पत्रमा भनिएको छ ।

नगरप्रमुख गुरुङले छोटो समयमा नै प्रमुख प्रशासकीय अधिकृतको सरुवा गर्ने र पठाउन ढिलो हुँदा दैनिक कामकाजमा समस्या पर्ने गरेको हुँदा व्यङ्ग्यात्मक पत्र पठाएको बताए । ‘यो हाम्रो नगरको मात्र समस्या होइन’, उनले संगालोखबरसँग भने, ‘देशभरीकै समस्यालाई मध्यनजर गर्दै पत्र पठाएको हुँ ।’

संघ र स्थानीय सरकारमा दाजुभाइ जस्तो सम्बन्ध हुनुपर्नेमा त्यस्तो नभएको उनको भनाइ छ । संघ दाजु भएकाले स्थानीय सरकारलाई सहयोग गर्नुपर्ने उनले बताए । बिदामा गएका हाकिम बिदा सकेर नगरपालिका आउन नपाउँदै उतैबाट सरुवा भएको उनले बताए ।

‘हाकिम साहब दुईचार दिनको बिदामा जानु भएको थियो । उतैबाट सरुवा भएछ’, नगरप्रमुख गुरुङले थपे, ‘जनताको काम गर्नुपर्ने हुन्छ । हाकिम खोज्न हिँड्नुपर्दा जनताको काम रोकिन्छ । केन्द्रले अहिलेसम्म हाकिम पठाएको छैन । केही आधिकारिक जानकारी आएको छैन ।’

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!