
सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका-८ तिनकुनेस्थित कोशी राजमार्गमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु भएको छ । मोटरसाइकल पछाडि सवार एक जना घाइते भएका छन् ।
मृत्यु हुनेमा मोटरसाइकल चालक इटहरी उपमहानगरपालिका-४ का २५ वर्षीय मन्जिल लिम्बु छन् । दुर्घटनामा गम्भिर घाइते भएका उनको उपचारका क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकल पछाडि सवार धरान-५ का ३२ वर्षीय अमित राईको टाउकोमा चोट लागेको छ । उनको उपचार भइरहेको प्रहरीले जनाएको छ ।
बिहीवार राति धरानबाट इटहरीतर्फ जाँदै गरेको प्र १-०३-००१ प १३२४ नम्बरको मोटरसाइकलले रोडको साइडमा रोकेर राखिएको प्र १-०२-००१ ख ८७५७ नम्बरको ट्रकलाई पछाडिबाट ठक्कर दिएको थियो ।
ट्रक चालक तेह्रथुमको फेदाप गाउँपालिका-२ का २७ वर्षीय गणेश भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । लिम्बुको शव बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको शव गृहमा राखिएको प्रहरीले जनाएको छ ।

संगालोखबर 













