
सुनसरी । सुनसरीको धरान-११ स्थित मंगलबारेमा रहेको नयाँ लक्ष्य उपचार तथा पुनर्स्थापना केन्द्रमा उपचाररत एक युवकको कुटपिटबाट मृत्यु भएको छ । तेह्रथुमको मेन्छयायेम गाउँपालिका-६ का ३३ वर्षीय खड्गबहादुर राईको कुटपिटबाट मृत्यु भएको हो ।
प्रहरीका अनुसार कुटपिटबाट घाइते भएका उनको उपचारका क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गत मंगलबार दिउँसो मृत्यु भएको हो । उनको मृत्यु भएपछि प्रहरीले केन्द्रका संचालकसहित नौ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सुधारगृह सञ्चालक धरान-८ का ३५ वर्षीय मणिराज राई, धरानकै २५ वर्षीय राकेश प्रधान, २० वर्षीय श्रवण राजधानी, ४० वर्षीय निकेश सुनुवार, ४१ वर्षीय सुरेन लिम्बु, ३८ वर्षीय हस्तबहादुर विश्वकर्मा, ३७ वर्षीय बिरु लिम्बु, ३५ वर्षीय सचिन राई र मोरङको सुन्दरहरैँचाका २७ वर्षीय विजय चौधरी छन् ।
पुनर्स्थापना केन्द्रमा लगाएको सीसी क्यामेरा फुटेज हेर्दा पाता कसेर कम्मरमा कम्ब्याट र डसनाले हातखुट्टा समेत चल्न नसक्ने गरी बाँधेर लडाएको देखिएपछि उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
‘भर्खर-भर्खरै पुनर्स्थापना केन्द्रमा राखेको रहेछ’, इलाका प्रहरी कार्यालय धरानका डीएसपी भीषण बहादुर राईले संगालोखबरसँग भने, ‘मृतकको शरीरमा निलडाम देखिएको छ । घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको छ ।’
पक्राउ परेका नौ जनाविरुद्ध अनुसन्धानका लागि सुनसरी जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी थप भएको छ । घटनाका सम्बन्धमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

संगालोखबर 













