
धनकुटा । धनकुटाको प्रमुख जिल्ला अधिकारी भएर आएको दुई महिनामै सरुवा भएका शिवराम गेलाललाई बिदाइ गरिएको छ । धनकुटाबाट झापाको प्रमुख जिल्ला अधिकारीको रूपमा सरुवा भएका गेलाललाई बुधबार बिदाइ तथा सम्मान गरिएको हो ।
गेलाल दुई महिना अघि दोलखाबाट सरुवा भएर धनकुटा आएका थिए । धनकुटाबाट बिदा हुँदै गर्दा गेलालले धनकुटालाई कहिल्यै नबिर्सिने र आफूले विकास र समृद्धिको लागि सँधै सहयोग गर्ने बताए ।
गृह मन्त्रालयको कात्तिक ९ गतेको निर्णय अनुसार धनकुटासहित कोशी प्रदेशका पाँच सीडीओ फेरिएका हुन् । धनकुटाको नयाँ सीडीओमा विनोद कुमार खड्का आएका छन् ।
मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको सरुवा भएको छ । मोरङमा प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा युवराज कट्टेल आएका छन् । यस्तै उदयपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुईँटेलको ठाउँमा धर्मराज जोशी आएका छन् ।
सुनसरीमा धर्मेन्द्र कुमार मिश्रको ठाउँमा बासुदेव घिमिरे र झापामा गोपाल कुमार अधिकारीको ठाउँमा शिवराम गेलाललाई पठाइएको छ ।

संगालोखबर 













