
सुनसरी । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-१ मा गएराति दुई पक्षबीच झडप भएको छ । विवाद झडपमा परिणत हुँदा ९ जना घाइते भएका छन् । घाइते हुनेमा ४ महिला, ४ पुरुष र १ किशोरी रहेका प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार क्यारम बोर्ड खेल्ने विषयलाई लिएर स्थानीयबीच विवाद भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घाइतेहरूमध्ये केहीको अवस्था सामान्य र केहीको मध्यम रहेको सुनसरीका प्रहरी प्रवक्ता डीएसपी योगराज खतिवडाले जानकारी दिए ।
भोक्राहा नरसिंह-१ घर भएका ४२ वर्षीय कासिम मिया, उनकी श्रीमती ४० वर्षीया नजमा खातुन, १४ वर्षीया छोरी गुल अवसना खातुन र ३० वर्षीया अमिमा खातुन घाइते भएका छन् । तीमध्ये कासिम मिया, नजमा खातुन र अमिमा खातुनको विराट शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
किशोरी गुल अवसना खातुन भने जिल्ला अस्पताल इनरुवामा उपचारपछि डिस्चार्ज भएकी छन् । झडपमा अर्काे पक्षका भोक्राहा नरसिंह-२ का ४८ वर्षीय नवाब अली, ५४ वर्षीय मुन्ना अली, १९ वर्षीय तरबेज अली, ३५ वर्षीया सौरा बानो र ३८ वर्षीया नजमुन खातुन घाइते भएका हुन् ।
घाइतेहरू केही डिस्चार्ज भएका छन् । केहीको इनरुवा अस्पतालमा उपचाररत छन् । घटनाको प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

संगालोखबर 













