संगालोखबर
फाइल तस्बिर

धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिकाको करार र अस्थायी सेवामा कार्यरत कर्मचारीहरूको नियुक्ति र सम्झौता रद्द गर्ने निर्णयप्रति नेकपा एमालेले आपत्ति प्रकट गरेको छ ।

एमाले गाउँपालिका कमिटीले आज विज्ञप्ति जारी गर्दै गाउँपालिकाले असोज २३ र २४ गते गरेको निर्णयप्रति आपत्ति प्रकट गरेको हो । ‘यो निर्णय गैरजिम्मेवार, अमानवीय, श्रमविरोधी र प्रतिशोधपूर्ण कदम हो भन्ने नेकपा एमालेको ठहर छ’, विज्ञप्तिमा भनिएको छ ।

Advertisement

स्थानीय ऐनमा दरबन्दी निर्धारण गरेर खुल्ला प्रतिष्पर्धामार्फत नियुक्त भएका कर्मचारीहरूलाई एक्कासि निष्कासन गर्नु न्यायपूर्ण नभएको एमाले गाउँपालिका कमिटीको ठहर छ ।

‘जनतालाई नयाँ रोजगारी सिर्जना गर्दै अघि बढ्नु र बेरोजगार युवाहरूलाई अवसर प्रदान गर्दै विदेशिनबाट रोक्नु राज्यको काम कर्तव्य हो’, विज्ञप्तिमा भनिएको छ, ‘तर यसको विपरीत, श्रोत सुनिश्चित भै राज्यको नाममा काम गर्दै आएका कर्मचारीहरूको खाईपाई आएको रोजगारी खोस्नु, जनताले घर आँगनमा पाई आएको ल्याब, नापी, चिकित्सकीय अपांगता रोकथाम तथा पुनर्स्थापना र गुणस्तरीय शिक्षा लगायतका सेवासुविधा कटौती गर्नुलाई हाम्रो पार्टी अन्याय र विवेकविहीन निर्णय हो भन्ने ठान्दछ ।’

यस्तै गाउँपालिकाको निर्णयलाई पार्टीले जनविरोधी षड्यन्त्रको संज्ञा दिएको छ । कमिटीले पीडित कर्मचारीहरूप्रति पूर्ण ऐक्यबद्धता र सहानुभूति प्रकट गर्दै गाउँपालिकालाई उक्त निर्णय तुरुन्त फिर्ता लिन आग्रह गरेको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन र अर्थ मन्त्रालयको पत्र अनुसार अर्को सूचना जारी नभएसम्म असोज २१ गतेदेखि लागुहुनेगरि अस्थायी नियुक्ति र करार सम्झौता रद्द गरिएको गाउँपालिकाले जनाएको छ । 

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!