
विराटनगर । सुनसरीको इटहरीमा लेनदेन विवादमा कुटपिट हुँदा एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा इटहरी-१६ का ४२ वर्षीय रामकुमार चौधरी छन् ।
बुधबार राति करिब ११ः२० बजे विराट टिचिङ अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको सुनसरीका प्रहरी प्रवक्ता डीएसपी योगराज खतिवडाले जानकारी दिए ।
प्रहरीका अनुसार बुधबार राति ९ः३० बजे लेनदेन विवाद हुँदा सोही स्थानका ५५ वर्षीय लाले चौधरीले रामकुमारलाई कुटपिट गर्दा टाउकोमा चोट लागेको थियो । टाउकोमा चोट लागेर गम्भीर घाइते भएका रामकुमारलाई उपचारका लागि इटहरीको सान्बी सिटी अस्पताल लगिएको थियो ।
तर त्यहाँ उपचार सम्भव नभएपछि विराट टिचिङ अस्पताल लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा संलग्न लाले चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

संगालोखबर 













