संगालोखबर
फाइल तस्बिर

विराटनगर । कोशी प्रदेशका तीन जिल्लामा तीन महिनाको अवधिमा कारागार र प्रहरी ब्यारेकमा ६ जनाको मृत्यु भएको छ । इन्सेक कोशी प्रदेश कार्यालय विराटनगरले सार्वजनिक गरेको सन् २०२५ जनवरीदेखि मार्चसम्मको प्रतिवेदन अनुसार झापा, मोरङ र सुनसरीमा रहेका कारागार र ब्यारेकमा ६ जनाको मृत्यु भएको हो ।

इन्सेकको अभिलेखअनुसार गत पुस १६ गतेदेखि चैत १८ गतेसम्म जिल्ला प्रहरी कार्यालय झापाको ब्यारेक र कारागारमा दुई जनाको मृत्यु भएको छ । जिल्ला कारागार मोरङका तीन जना र सुनसरीको झुम्का कारागारमा एक जनासहित चार जनाको मृत्यु भएको छ ।

Advertisement

जिल्ला प्रहरी कार्यालय झापाको ब्यारेमा कानेपोखरी गाउँपालिका-७ का ४९ वर्षीय सइ धनराज खतिवडाको फागुन ४ गते झुन्डिएर मृत्यु भएको र जिल्ला कारागार झापामा भद्रपुर नगरपालिका-१ का ४० वर्षीय मदन सिलवालको माघ २९ गते मृत्यु भएको प्रतिवेदनमा उल्लेख छ ।

जिल्ला कारागार मोरङमा बेलबारी नगरपालिका-४ का ६७ वर्षीय अम्मरबहादुर राइको पुस २० गते, पथरीशनिश्चरे नगरपालिका-४ का जेठा भनिने जितबहादुर देवानको चैत १ गते र रतुवामाई नगरपालिका-५ का २९ वर्षीय किसन टुडुको माघ २९ गते मृत्यु भएको थियो ।

तीन महिनाको अवधिमा ताप्लेजुङको पाथीभरा मुकुम्लुङ क्षेत्रमा भएको आन्दोलनमा प्रहरीले सात जना महिला र ४२ जना पुरूष गरी ४९ जनालाई गिरफ्तार गरेको इन्सेक कोशी प्रदेश कार्यालयका प्रलेख अधिकृत पुण्य अधिकारीले जानकारी दिए । सो अवधिमा राज्य पक्षबाट भएका कुटपिटका घटनामा चार जना पुरूष घाइते भएका छन् ।

तीन महिनाको अवधिमा राज्यपक्षबाट भएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा ५९ जना र अन्य पक्षबाट भएका मानव अधिकारविरूद्धका घटनामा तीन सय १६ जनासहित तीन सय ७५ जना पीडित भए ।

अन्य पक्षबाट भएका घटनामा घाइते पुरूष ३०, कुटपिटबाट महिला दुई र पुरूष सात गरी नौ, अमानवीय व्यवहार घटनामा दुई जना पुरूष, हत्याका घटना दुई जना महिला र दुई जना पुरूष गरी चार, अपहरण घटनामा एक जना महिला, धम्कीका घटनामा एक जना पुरूष, बाल अधिकारविरूद्धका घटनामा ४१ जना र महिला अधिकारविरूद्धका घटनामा दुई सय २८ गरी जम्मा तीन सय १६ जना पीडित छन् ।

इन्सेक अभिलेखका आधारमा तीन महिनाको अवधिमा २९ जना बालिका बलात्कार र १२ जना बालिका यौन दुर्व्यवहारका घटनाबाट पीडित भएका छन् । महिला अधिकारविरूद्धका घटनामा बलात्कार २६, बलात्कार प्रयास एक, यौन दुर्व्यवहार एक, परिवारजनबाट हत्या दुई, यौनजन्य साइबर अपराध एक र घरेलु हिंसामा एक सय ९७ गरी जम्मा दुई सय २८ जना महिला पीडित भएका इन्सेकले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!