
विराटनगर । कोशी यातायात सुधार कार्यक्रमअन्तर्गत विद्युतीय सवारी चालक अनुमतिपत्र प्रणालीमा अनलाइन भुक्तानी प्रक्रिया सुरु गरिएको छ ।
इटहरीस्थित यातायात व्यवस्था सेवा कार्यालय, सुनसरीमा आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले सोमबार यो प्रणालीको औपचारिक सुरुवात गरेका हुन् ।
यस प्रणालीमार्फत सेवाग्राहीले ड्राइभिङ लाइसेन्सको शुल्क अब लाइनमा नबसी आफ्नै मोबाइल वा कम्प्युटरबाट घरमै बसेर अनलाइनमार्फत तिर्न सक्नेछन् ।
कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका यातायात शाखा प्रमुख नारायण भण्डारीले लाइसेन्सको आवेदन दिँदा, नवीकरण गर्दा र लाइसेन्स सम्बन्धी कुनै पनि शुल्क तिर्दा लाइन बस्नु पर्ने झन्झट हटेको बताए ।
नवीकरण गर्दा मन्त्रालयमा सूचिकृत भएका चिकित्सकसँग जाँच गराएपछि चिकित्सकले सोही साँझ अनलाइन अपडेट गर्ने र भोलिपल्ट भुक्तानी गरेर अनलाइनबाटै बिल लिन सकिने छ । आगामी साउनबाट प्रदेशमै लाइसेन्स छपाइ सुरु हुने र लिनमात्रै कार्यालय पुग्नु पर्ने बताइएको छ ।
प्रमुख भण्डारीका अनुसार प्रदेशका सबै यातायात कार्यालयहरूमा यो सेवा सुरु भएको छ । विराटनगरमा भने केही प्राविधिक समस्या देखिएको कारण आजदेखि अनलाइन भुक्तानी प्रक्रिया सुरु हुने उनको भनाइ छ ।

संगालोखबर 













