विराटनगर । कोशी प्रदेश सरकारले पर्यटन वर्ष २०८२ को शुभारम्भ आजबाट गर्दैछ । कोशी प्रदेशको पर्यटकीय क्षेत्र तीनजुरे मिल्के जलजलेबाट पर्यटन वर्षको शुभारम्भ गर्न लागिएको हो ।
मूल आयोजक समितिका अध्यक्ष एवं कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीका अनुसार कोशी प्रदेशको पर्यटन प्रवर्द्धन गर्ने र पर्यटनबाट नै राष्ट्रिय पुँजी विकास गरेर समृद्धि हासिल गर्न सकिने महत्त्वपूर्ण लक्ष्यसहित पर्यटन वर्ष मनाउन लागिएको हो ।
कोशी प्रदेश सरकारले भारतबाट आउने पर्यटकलाई असजिलो हुन नदिनका लागि नाकाहरूमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयको तयारीमा पर्यटकीय बस तथा सवारी साधनलाई स्टिकर लगाइदिने तयारी पनि गरिएको छ ।
यस्तो स्टिकर लगाएको सवारी साधनमा आउने र जाने मिति तोकेपछि बीच बाटोमा अनावश्यक झन्झट नदिने र चेकजाँच नगर्ने कोशी प्रदेश सरकारले तयारी गरेको छ ।
पर्यटन वर्ष भव्यताका साथ मनाउनको लागि कोशी प्रदेशका पर्यटन वन तथा वातावरण मन्त्री सदानन्द मण्डलको संयोजकत्वमा निर्देशन समिति निर्माण गरी कामलाई अगाडि बढाइएको छ ।