संगालोखबर संवाददाता

काठमा, २ असोज । तेस्रो चरणको स्थानीय तह निर्वाचनको समयसीमा साँझ ५ बजेसँगै सकिएको छ । निर्वाचन आयोगले बिहान सात बजेदेखि बेलुका ५ बजेसम्मको समयसीमा सकिएपनि मतदानका लागि लाइनमा बसेका मतदाताले भने अवेरसम्म पनि मतदान गर्न पाउने जनाएको छ ।

Advertisement

तेस्रो चरणमा भएको असोज २ को मतदान सम्पन्न भएसँगै संविधान कार्यन्वयनको पहिलो खुड्किलो पनि पार भएको छ । त्यतिमात्र हैन, जनताले २० बर्ष पछि स्थानीय जनप्रतिनिधि छान्ने मताधिकारको समेत पूर्ण प्रयोग गरेका छन् ।

प्रमुख दलको प्रतिष्ठासँग जोडिएको प्रदेश नम्बर २ का आठ जिल्लामा भएको यो स्थानीय तह तेस्रो चरणको निर्वाचन आशातित रुपमा शान्तिपुर्ण रुपमै सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ ।

मतदान सम्पन्न भएसँगै अव सवैको ध्यान नतिजातर्फ केन्द्रीत भएको छ । नतिजा पनि जतिसक्दो चाँडो सार्वजनिक गर्ने तयारी निर्वाचन आयोगको छ ।

मधेसका आठ जिल्लामा मुख्यगरी प्रमुख दलहरु नेपाली कांग्रेस, एमाले, राष्ट्रिय जनता पार्टी नेपाल र माओवादीले प्रतिष्ठाको विषय बनाएर चुनावी अभियानलाई सक्रिय बनाएका थिए ।

यसअघिका निर्वाचनमा पहिलो बनेको एमाले २ नम्बर प्रदेशमा पनि त्यहि हैसियत कायमै राख्ने अभियानमा लागेको थियो भने, एमालेलाई मधेसमा कमजोर बनाउने कांग्रेस र माओवादीको योजना रहेको थियो ।

त्यस्तै मधेसमा आफ्नो प्रभुत्व देखाउन राजपा नेपालले पनि राम्रै कसरत गरेको थियो । दलहरुले जतिसुकै कसरत गरेपनि न्यायाधीश जनता भएकाले जनताले कसलाई रुचाए र कसलाई पास या फेल गराए भन्ने नतिज थाहा पाउन भने मतगणनाको परिणामलाई नै कुर्नुको विकल्प छैन ।

२०७२ साल असोज ३ गते जारी भएको संविधानप्रति मधेसकेन्द्रीत दलहरुले असहमति जनाएसँगै मधेसका ८ जिल्लाको स्थानीय तहको निर्वाचन पछि धकेलिदै तेस्रो चरणमा २०७४ असोज २ गते गरिएको हो ।

यसअघि बैशाख ३१ र असार १४ गते अन्य जिल्लाका स्थानीय तहको निर्वाचन सम्पन्न भएर त्याहाका जनप्रतिनिधिले कार्यभार समेत सम्हालिसकेका छन् । संविधानअनुसार स्थानीय तह निर्धारण गरी संघीयस्वरुपमै भएको यो निर्वाचनलाई संविधान कार्यन्वयनको पहिलो खुड्किलो समेत भनिदै आएको छ ।

२ नम्बर प्रदेशका १३६ स्थानीय तहमध्ये १ महानगरपालिका, ३ उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिकामा अन्तिम चरणमा भएको निर्वाचन भएको हो ।

तेस्रो चरणको निर्वाचनमा ३७ हजार २३६ उम्मेदवार प्रतिस्पर्धामा उत्रिएपनि जनताको मताधिकारबाट ६ हजार ६२७ जना प्रतिनिधिहरुमात्र निर्वाचित हुनेछन् ।

प्रतिस्पर्धामा उत्रिएका उम्मेदवारमध्ये महिला १४ हजार ३३७ (३९ प्रतिशत) र पुरुष २२ हजार ८६१ (६१ प्रतिशत) छन् । यो निर्वाचनमा ८ जना उम्मेदवार निर्विरोध निर्वाचित भइसकेका छन् । नगरप्रमुख तथा अध्यक्षमा पुरुष एक हजार ७०९ र महिला ६१ जनाको मात्रै उम्मेदवारी परेको छ ।

नगरउपप्रमुख वा उपाध्यक्षमा भने पुरुष भन्दा महिला उम्मेदवारी बढी छन् । नगरउपप्रमुख र उपाध्यक्षमा १९७ जना पुरुष र ९१९ जना महिला उम्मेदवार छन् । वडाध्यक्षमा पुरुष ८ हजार ५२ जना र महिला २२३ जना उम्मेदवारहरू मैदानमा छन् ।

दुई हजार १६६ मतदान स्थलमा तीन हजार ५७८ मतदान केन्द्रमार्फत मतदान भएको हो । निर्वाचन सम्पन्न गर्न सुरक्षाकर्मीबाहेक ३१ हजार ५०० जना कर्मचारी परिचालन गरेको निर्वाचन आयोगले ४४ वटा संस्थाका दुई हजार एक सयभन्दा बढी पर्यवेक्षकलाई निर्वाचन पर्यवेक्षण गर्ने अनुमति दिएको थियो ।

आज मतदान सम्पन्न भएलगत्तै राजनीतिक दलहरुको सहमतिमा निर्वाचन आयोगले मतगणना गर्न यसअघिनै मुख्य निर्वाचन अधिकृतको कार्यलयलाई निर्देशन दिइसकेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement