काठमाडौं , १ अशोज । चार वर्षअघि कालिमाटी तरकारी बजारमा लोकल काउलीको औसत थोक मूल्य ५० रुपैयाँ प्रतिकिलो थियो । अहिले यो मूल्य ५० प्रतिशतभन्दा धेरैले बढेर ७८ रुपैयाँ पुगेको छ ।
त्यस्तै, चार वर्षअघि दसैंताका प्रतिकिलो २० रुपैयाँ रहेको सेतो आलुको थोक मूल्य पनि अहिले त्यही अनुपातमा बढेर प्रतिकिलो २९ रुपैयाँ पुगेको छ।
२०७० भदौमा काठमाडौंमा मुसुरोको दालको मूल्य प्रतिकिलो एक सय सात रुपैयाँ थियो । चार वर्षपछि अहिले यो मूल्य प्रतिकिलो एक सय ५० पुगेको छ ।
पछिल्लो चार वर्षमा चनाको मूल्य पनि दोब्बर भएको छ । चार वर्षअघि एक सय रुपैयाँ प्रतिकिलो रहेको चनाको मूल्य अहिले दुई सय रुपैयाँभन्दा धेरै पर्छ ।
राजधानी लगायत धेरै सहरमा दसैं तिहारजस्ता चाडपर्व नजिकिँदै गर्दा सामानको मूल्य बढ्न थाल्छ । त्यसबाहेक, निर्वाचनको समयमा र निर्वाचन सम्पन्न भएपछि पनि मूल्य बढ्दै जान्छ ।
काठमाडौंमा मात्रै होइन देशभरमै चाडपर्वमा व्यवसायीलाई कमाउने मौका हुने गर्छ । निर्वाचनको समयमा व्यापारीले राजनीतिक दलका नेतालाई चन्दा दिनुपर्ने भएकाले व्यापारीले त्यो चन्दाको रकम उपभोक्ताबाट उठाउने गरी मूल्य बढाउने अर्थशास्त्री केशव आचार्य बताउँछन् ।
कसैले पनि कृत्रिम मूल्य वृद्धिको विरोध नगर्ने भएकाले पनि उपभोक्ताहरु महँगो मूल्य तिर्न बाध्य भएको उनी बताउँछन् । ‘चाडपर्वमा खाद्य वस्तुलगायत लत्ताकपडा जस्ता सामानको मूल्य बढ्छ नै उपभोक्ता पनि बढी मूल्य तिर्न बाध्य हुन्छन्,’ उनी भन्छन्, ‘तरकारी र फलफूलमा ह्वात्तै बढेको छ ।’
दसैंका लागि मासुको मूल्य पनि बढेको उनले आफैं अनुभव गरेका छन् । सोह्र श्राद्ध लागेपछि समेत खसीको मासुको मूल्य बढेको छ । ‘केही दिनअघि आठ सयमा किनेको मासु अहिले नौ सय ५० रुपैयाँ तिरेर किन्नुप¥यो ।’ मौसमका कारणले पनि तरकारीको मूल्य बढेको उनी बताउँछन् ।
सहरका विभिन्न पसलमा चाडपर्व अगाडि लत्ताकपडा लगायतमा सेल सुरु हुन्छ । आचार्य ती स्टोरहरुले त्यही सामानलाई भदौतिर ५० प्रतिशत बढीमा बिक्री गर्ने र त्यही सामान दसैंको सेल भनेर १० प्रतिशत घटाउने गरेको आरोप लगाउँछन् ।
‘सबैभन्दा मार पार्ने एकदमै कम र स्थिर आय भएकाहरु हुन् । बजारमा भाउ बढ्नेबित्तिकै तलब बढ्दैन । जो काम गरेर खान्छ, उसले पनि सबै चिजको बढ्यो, म पनि भाउ बढाउँछु भन्ने धेरै भएको उनी बताउँछन् ।
‘कोठा भाडामा लगाउनेहरुले पनि सबै चिजमा महँगी छ कोठा भाडा पनि बढाउँछौं भन्छन् र आफ्नो व्यापार विस्तार गर्छन्,’ उनी भन्छन्।
यो मूल्यवृद्धिलाई आफू अनुकूल बनाउन कम आय भएकाहरुले व्यक्तिगत अथवा पारिवारिक संरचना फेर्ने आचार्य बताउँछन् । ‘जस्तै काउली, पनिर च्याउ खानेले मुला, गान्टेमुला र सिमी जस्ता तरकारी खान्छन्, रहरको दाल खानेले मासको दाल खान थाल्छन्,’ उनले भने ।
नेपाल राष्ट्र बैंकले गत महिना मूल्यवृद्धि ऋणात्मक भएको प्रतिवेदन सार्वजनिक गरेको थियो । आर्थिक वर्ष ०७२÷७३ मा ११.९ प्रतिशत मूल्य वृद्धि भएकोमा आर्थिक वर्ष ०७३÷७४ मा भने खाद्य पदार्थको मूल्यवृद्धि एक प्रतिशत ऋणात्मक भएको राष्ट्र बैंकको तथ्यांक छ ।
राष्ट्र बैंकका अनुसार दलहन तथा गेडागुडी अघिल्लो वर्षभन्दा १७.५ प्रतिशत सस्तो भएको छ । त्यस्तै, तरकारी भने १६.३ प्रतिशत सस्तिएको छ ।
घिउ तथा तेलको मूल्य अघिल्लो वर्षको तुलनामा एक प्रतिशतले कम भएको छ । तर, यस अवधिमा चिनीको मूल्य साढे ११ प्रतिशत र मदिराको मूल्य १०.८ प्रतिशत वृद्धि भएको राष्ट्र बैंकको तथ्यांक छ ।
गैरखाद्यान्न अन्तर्गत लत्ताकपडा तथा जुत्ता, घरायसी सामान तथा सेवा, सञ्चारलगायत वस्तुहरूको मूल्य वृद्धिदर गत वर्षको तुलनामा न्यून रहेको राष्ट्र बैंकले उल्लेख गरेको छ ।
तर पछिल्लो पाँच वर्षमा भने नेपालीहरुको भान्सा महँगिएको छ । चाबहिलकी सरिता ढुंगानाले पछिल्ला वर्षहरुमा तरकारीको भाउ बढेको महसुस गरेकी छिन् ।
‘पहिले पहिले एक सय रुपैयाँमा झोलाभरि तरकारी पाइन्थ्यो । अहिले एक सयमा एक छाक तरकारी पनि किन्न पुग्दैन,’ उनी भन्छिन् । पहिले पहिलो १० देखि १५ रुपैयाँमा पाइने एक मुठा सागलाई अहिले दोब्बर तिर्नुपरेको उनको अनुभव छ ।
त्यससँगै, चाडपर्व नजिकिँदै जाँदा मासुको भाउ पनि बढ्ने गरेको उनी बताउँछिन् । त्यस्तै ललितपुरकी रमा देवकोटालाई चामलमा बढेको मूल्य देखर अचम्म लागेको छ ।
‘पहिले जिरा मसिनो चामल खानेले पनि अब मन्सुली चामल खानुपर्ने अवस्था आइसकेको छ,’ उनी भन्छिन् । लत्ताकपडा, खाद्यवस्तु, अन्य उपभोग्य वस्तुमा पनि मूल्य बढेको उनको अनुभव छ ।
नेपाल खुद्रा व्यापारी संघका अध्यक्ष पवित्र बज्राचार्य भने खाद्यान्नको मूल्य नबढेको बताउँछन् । ‘दालको कुरा गर्ने हो भने सबै घटेको छ । दाल, गेडागुडीमा घटेको छ भने सबै खाले चामलमा १० प्रतिशतले मूल्य वृद्धि भएको छ,’ उनी बताउँछन् । चाडपर्वमा मासुको खपत बढ्ने भएकाले त्यसैअनुसार मूल्य बढ्ने भएको उनी दावी गर्छन् । तर अहिलेसम्म भने मूल्य वृद्धि नभएको उनी बताउँछन् ।
विगतमा भन्दा अहिले चाडपर्व मनाउने चलन पनि फरक हुँदै गएको छ । पहिलेपहिले चाडपर्व भनेको मिठो–मसिनो खाने समयको रुपमा लिने गरिएकोमा अहिले भने मानिसहरुले यसलाई फरक हिसाबले मनाउँदै आएका छन् ।
दसैं–तिहार आउन लाग्दा सम्पन्न मान्छे विदेश भ्रमणमा जाने ट्रेन्ड बढिरहेको बज्राचार्यको अनुभव छ । नेपालमा बस्नेले पनि यो समयमा नयाँ गाडी वा बाइक किन्ने उनी बताउँछन् ।
‘अहिले खाद्यान्नको मूल्य पहिलेको तुलनामा बढेको छैन । खर्च धेरै हुन्छ । खाद्यान्नमा तडकभडक देखाउन छोडेका छन् । पसलमा पनि सेल्स एकदमै घटेको छ,’ उनी बताउँछन् ।
सामान्यतयाः मान्छेले आफूले खर्च गर्ने ४० प्रतिशत खाद्यान्नमा गर्छ भने बाँकी ६० प्रतिशत अन्यमा खर्च गर्छ । गत वर्ष खाद्यान्नको मूल्य वृद्धि नहुनुमा विभिन्न कारण छन् ।
अर्थविद् रामेश्वर खनाल यसका पछाडि विभिन्न कारण देख्छन् । अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्नु, गत वर्षको तुलनामा यो वर्ष कृषिजन्य खाद्यान्न उत्पादन बढी हुनु र भारतको डिमोनिटाइजेसनले गर्दा पनि मूल्य वृद्धि नभएको उनी बताउँछन् ।
‘मूल्य वृद्धि हुने, खाद्यान्न, भारतमा मूल्य वृद्धि भयो भने हामी यहाँ पनि महँगी महसुस गर्छौं । विगतमा १७ प्रतिशतले बढेको चामलको मूल्य अहिले चार प्रतिशतले मात्रै बढेको होला ।’
त्यस्तै, विद्युत आपूर्तिको क्रममा सुधार भएकाले पनि खाद्यान्नको मूल्य वृद्धिलाई असर नगरेको खनाल बताउँछन् । विद्युत आपूर्ति निरन्तर रहेमा गैरखाद्यको मूल्य पनि स्थिर हुन सक्ने उनी बताउँछन् ।
विकास निमार्णमा खर्च भए उत्पादन वृद्धि हुने र त्यसले मानिसको आर्थिक अवस्थालाई सुधार्न पनि सहयोग गर्ने उनी बताउँछन् । ‘धादिङसम्मको बाटो राम्रो भयो भने किसानले तरकारी उत्पादन गर्न सक्छ ।
अण्डा उत्पादन गर्न सक्छ । काठमाडौंमा पनि मूल्य घट्छ । विकास निर्माण तीव्र गतिमा गर्यो भने आर्थिक वर्षमा मूल्य वृद्धि नहुन पनि सक्छ,’ उनी भन्छन् । स्थानीय तहको निर्वाचन भइसकेको र स्थानीय सरकारले काम गर्न थालिसकेकाले स्थानीय तहमा विकासका काम तीव्र भए मूल्यलाई सन्तुलनमा राख्न सघाउने उनी बताउँछन् ।
अघिल्लो वर्षको तुलनामा यो वर्ष खाद्यान्नको मूल्य स्थिर रहे पनि ज्यालादारी काम गर्ने मजदुरको पारिश्रमिक बढेको छ । गत वर्ष सरकारी कर्मचारीको तलब पनि बढेको थियो ।
नेपालमा काम गर्ने मान्छेको संख्या कम हुँदै गएको र वैदेशिक रोजगारका कारण काम गर्ने मान्छे पाउन पनि गाह्रो हुने अवस्था छ । त्यसबाहेक, भूकम्पपछिको पुनर्निर्माणको कामले गर्दा पनि मजदुरको माग बढ्दो छ ।
‘काठमाडौंमा करेसाबारी खन्न बोलाउँदा पनि दिनको एक हजार तिर्नुपर्छ । नेपाल भरी मूल्यवृद्धिको दर ज्यादै उच्च छ । यहाँ काम गर्ने मान्छे विदेश गए । १२ क्लास पढेको मान्छे पनि बेरोजगार छ । श्रमिक काम गर्नेको आम्दानी बढेको छ,’ खनाल भन्छन् ।
चालु आर्थिक वर्षमा भदौदेखि मंसिरसम्म मूल्य वृद्धि हुने सम्भावना रहेको खनालको अनुमान छ । त्यस्तै, गत महिना गएको बाढीले गर्दा तराईमा उत्पादन कम हुने भएको अर्को वर्ष पनि मूल्य बढी हुने उनी बताउँछन् । भारत र बंगलादेशमा पनि कृषिमा क्षति भएकाले पनि खाद्यान्नको अभाव भई मूल्य वृद्धि हुने उनको विश्लेषण छ । -नागरिकन्युज