संगालोखबर संवाददाता

काठमाडौँ, १ अशोज । नेपाल प्रहरी श्रीमती सङ्घद्वारा सञ्चालित आसरा सुधार केन्द्र रानीबारीले गत बीस वर्षमा दुई हजार ५१३ लागूऔषध प्रयोगकर्ताको उपचार गरेको छ ।

केन्द्रले लागूऔषध प्रयोगका कारण विसं २०५४ देखि हालसम्म भर्ना भएका चार हजार ७८ मध्ये दुई हजार ५१३ जनाको उपचार गरेको केन्द्रका सचिव रम्भा लामाले बताउनुभयो ।

Advertisement

केन्द्रमा उपचारका लागि भर्ना भएकामध्ये मानसिक असन्तुलन र शारीरिक अक्षमताका कारण २११ र पूर्णकालीन सुविधा नलिई एक हजार २७२ घर फिर्ता भएका छन् । हाल ७८ जनाले केन्द्रमा उपचार गरिरहेका छन् ।

स्थापनाको २१ औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक प्रकाश अर्यालले लागूऔषध दुव्यर्सनलाई रोक्न घरबाटै अभियान चलाउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले पछिल्लो समय पुरुष सँगसँगै महिला पनि दुव्यर्सनमा फस्दै गएको बताउँदै केन्द्रले महिलाको उपचारका लागि पनि छुट्टै उपचार केन्द्र स्थापना गर्नुपर्ने सुझाव दिनुभयो ।

केन्द्रका अध्यक्ष सीमा अर्यालले देशको उत्पादनशील र विकासका आधारस्तम्भका रुपमा रहेका युवा लागूऔषधको जोखिममा परेकाले तिनको उपचारका लागि केन्द्रले महत्वपूर्ण भूमिका खेल्दै आएको बताउनुभयो । रासस

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement