विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशमा उखु उत्पादन वृद्धि एवं प्रवर्द्धनका लागि आवश्यक सहयोग गर्ने बताएका छन् ।
नेपाल फार्मस एडभाइजरी काउन्सिल प्रालि सिनामङ्गल काठमाडौंद्वारा आज विराटनगरमा आयोजित उखु खेती प्रवर्द्धनका लागि कृषकहरूको सीपमुलक तथा आय अभिवृद्धि अभिमुखीकरण कार्यक्रममा मुख्यमन्त्री कार्कीले यस्तो बताएका हुन् ।
उखुको उत्पादनमा वृद्धि, बजारीकरण र मूल्यका लागि आगामी तीन महिना भित्र कृषक, उखु मिल र सरकारबीच त्रिपक्षीय छलफल सहित निष्कर्ष निकालेर सहयोग गर्ने मुख्यमन्त्री कार्कीले प्रतिवद्धता व्यक्त गरे ।
मुख्यमन्त्री कार्कीले प्रदेशमा कृषि उत्पादन वृद्धिका लागि कृषकले सिंचाईमा प्रयोग गर्ने विद्युत र मलखादमा आवश्यक अनुदान समेत दिने बताए । उनले मुलुकमा रहेका उद्योगलाई आवश्यक पर्ने कृषि कच्चा पदार्थ उत्पादन गर्न किसानलाई आग्रह गरे ।
मुख्यमन्त्री कार्कीले तराईमा छिटो उत्पादन भई प्रतिफल दिने उखु, धान, सनपाट र मकैको उत्पादन प्रवर्द्धनका लागि आगामी वर्ष २०८२/८३ को वार्षिक नीति तथा कार्यक्रममा समावेश गर्दै बजेट व्यवस्था गर्ने उल्लेख गरे ।
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले कृषकले आफ्नो उत्पादनको मूल्य आफै निर्धारण गर्न पाएमा उत्पादन वृद्धि हुने बताए । प्रदेश उद्योग, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. शरणकुमार पाण्डेले प्रदेशमा छ हजार हेक्टरमा उखुखेती हुनका साथै वार्षिक तीन लाख ५० हजार मेट्रिक टन उखु उत्पादन हुने गरेको जानकारी दिए ।
प्रदेश योजना आयोगका सदस्य सिताराम बस्नेतले उखु नगदे बाली भए पनि किसानले समयमा भुक्तानी नपाएर समस्या भोग्न बाध्य भएको बताए । कार्यक्रममा मोरङ, झापा र सुनसरीका ४० जना उखु किसानहरूको सहभागिता रहेको थियो ।