संगालोखबर

विराटनगर । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानअन्तर्गत विराटनगर महानगरपालिकाले वृहत र्‍याली निकालेको छ । ‘हामी सबैको प्रतिबद्धता : लैङ्गिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता’ भन्ने मूल नाराका साथ आजबाट सुरु भएको अभियानको पहिलो दिन वृहत सचेतनामूलक  र्‍याली निकालिएको हो ।

Advertisement

रेडक्रस चोकबाट सुरु भएको र्‍याली जिल्ला प्रशासन चोक, सहिद रङ्गशाला, अस्पताल चोक, ठाकुरबाडी रोड, बुधहाट चोक, ट्राफिक चोक हुँदै हिमालय रोडमा पुगेर कोणसभामा परिणत भएको थियो ।

र्‍यालीमा महानगरका मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की, मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई, एसपी नारायण चिमरिया, महानगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुङ्गेल, विभिन्न वडाका वडाध्यक्ष र विभिन्न सङ्घसंस्थाका प्रमुख तथा प्रतिनिधिको उपस्थिति रहेको थियो ।

लैङ्गिक हिंसा रोक्न १६ दिने अभियानले मात्रै नपुग्ने मेयर कोइरालाले बताए । उनले यस विषयमा घरघरमा सचेतना दिन आवश्यक रहेकोमा जोड दिए ।

‘लैङ्गिक हिंसा रोक्न १६ दिने अभियानले मात्रै भूमिका खेल्न सक्दैन’, मेयर कोइरालाले भने, ‘यस्ता अभियान हरेक दिन हुनुपर्दछ । लैंगिक हिंसामा परेको खण्डमा महानगरको न्यायिक समितिमा उजुरी दिन सक्नुहुन्छ ।’

उपमेयर कार्कीले महिला मात्रै नभएर पुरुष पनि हिंसामा पर्ने गरेको बताइन् । उनले पनि जोकोही हिंसामा परेको खण्डमा न्यायिक समितिमा उजुरी दर्ता गर्न आग्रह गरिन् ।

मोरङका प्रमुख जिल्ला अधिकारी भट्टराईले लैङ्गिक हिंसा न्यूनीकरणका लागि सबैको सहकार्य आवश्यक पर्ने उल्लेख गरे । मंसिर २५ गतेसम्म सञ्चालन हुने अभियानअन्तर्गत विभिन्न सङ्घसंस्थाको संयोजनमा विभिन्न कार्यक्रम आयोजना हुनेछ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!